एमालेले बुढानीलकण्ठमा गरेको कर्तुतको निर्वाचन आयोगले छानविन गर्दै
एमाले चूप
प्रकाशित २०७४ भदौ १२ सोमबार
114
Shares
काठमाडौं । निर्वाचन कार्यालयका कर्मचारीको मिलेमतोमा नेकपा एमालेका नगर अध्यक्षको घरमा बसेर मतदाता नामावली संकलन गरिएको भन्दै विवाद भएको काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाका बारेमा निर्वाचन आयोगले छानविन गर्दैछ ।
निर्वाचन आयोगको टोली सोमबार दिउँसो १ बजे बुढानीलकण्ठ नगरपालिकाको कार्यालय गोल्फुटार पुगेर छानविन सुरु गर्न लागेको आयोग श्रोतले जनाएको छ ।
स्थानीय तहमै मतदाता नामावली संकलन गर्ने समय गत तीन गते सकिए पनि रातीअवेरसम्म एमाले नेताको घरमा फोटोसहितको मतदाता नामावली तयार पारिरहेको भेटिएपछि आयोगले छानविन गर्न लागेको हो ।
नामावली तयार पारिरहेका बेला राती २ बजेतिर एमाले नेता, निर्वाचन कार्यालयका कर्मचारीसहित तीन जनालाई नामावली संकलन गर्ने उपकरणसहित प्रहरीले पक्राउ गरेर महाराजगञ्जस्थित प्रहरी कार्यालयमा राखेको थियो ।
प्रहरीले एमालेको बुढानीलकण्ठ नगरपालिका अध्यक्ष दिपक निरौलाको घरबाट निर्वाचन कार्यालयका कर्मचारी आकृत खत्री, बुढानीलकण्ठ ९ का वडाध्यक्ष राजेन्द्र सापकोटा, अर्का एक जना वडा सदस्यलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटना पश्चात काँग्रेस लगायतका पार्टीहरूले सत्य तथ्य छानविन गर्न, कार्यालय समय वाहिर संकलित नामावली बदर गर्न र दोषी कर्मचारी तथा एमाले नेतालाई कारवाही गर्न माग राख्दै भाद्र ४ गतेदेखि बुढानीलकण्ठ नगरपालिका कार्यालयमा धर्ना लगायतका विभिन्न कार्यक्रमहरू संचालन गर्दै आईरहेका थिए ।
उनीहरुको प्रदर्शनले मात्रै सुनुवाई नभएपछि काँग्रेस नेता शेखर कोईराला, काठमाडौं क्षेत्र नं ४ का सांसद गगनकुमार थापासहित काँग्रेस नेता कार्यकर्ताहरुको टोलीले निर्वाचन आयोगमा निवेदन दर्ता गराउदै छानविन गर्न माग गरेको थियो ।
कर्मचारी तथा जनप्रतिनिधिको अनधिकृत क्रियाकलापका कारण बुढानीलकण्ठ नगरपालिकाका धेरै बासिन्दाले नाम दर्ता गर्न नपाएकाले नाम दर्ता गर्ने लगायतका कार्यका लागि पुनःव्यवस्था गर्न पनि निवेदनमा माग गरिएको छ ।
निवेदनमा अनधिकृत रुपमा मतदाता नामावली सङ्कलन कार्यमा संलग्न कर्मचारी तथा जनप्रतिनिधिलाई प्रचलित नेपाल कानुन तथा सार्वजनिक सुरक्षा ऐन समेतका आधारमा हदै सम्मको कारवाही गर्न आयोगको ध्यानाकर्षण गराइएको छ ।
ध्यानाकर्षण गराउन पुगेका सांसद तथा काँग्रेस नेता कार्यकर्ताहरुलाई आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले अभिलम्ब छानविन कार्य अगाडि बढाई दोषीलाई कारबाही गर्ने अठोट व्यक्त गरेका थिए ।
सोही अनुसार आयोगको टोली सोमबार घटनास्थल गोल्फुटार जाने लागेको र केही दिनमै छानविन सम्पन्न गर्ने टोलीको तयारी रहेको आयोगले जनाएको छ ।
संसदमासमेत सांसदहरु गगन थापा र रामहरि खतिवडाले यसको छानविनको माग गरेका थिए ।
निरन्तरजसो खुवै राष्ट्रवादी र पारदर्शी कुरा गरेर राजनीतिक फण्डा निकाल्ने नेकपा एमाले भने अहिले चूप छ ।
गल्ती हुँदासमेत स्वीकार नगर्ने त्यसको सट्टा काँग्रेसलाई नै आलोचना गर्न पछि नपर्ने एमाले नेतृत्वको चरित्रदेखि औंलामा गन्न मिल्ने इमानदार एमालेका समर्थन पनि नाक खुम्च्याउन थालेका छन् ।