arrow

प्रतिनिधिसभा र प्रदेशसभाका लागि ९५ वटा राजनीतिक दल दर्ता

logo
प्रकाशित २०७४ भदौ १२ सोमबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौँ । आगामी मंसिरमा १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि विभिन्न ९५ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । 

आयोगले तोकेको समयसीमा आइतबार साँझ ६ बजेसम्म ९५ वटा राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । 

प्रवक्ता शर्माले आयोगमा दल दर्ताका लागि निवेदन दिएका दलले आयोगमा बुझाएका कागजातमाथि छानबिन गरी संविधान र कानूनअनुसार भएमा दल दर्ता गरिने जानकारी दिए । 

हरेक निर्वाचनमा भाग लिने राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । 

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सम्बन्धित कर्मचारीलाई भदौ २५ गतेभित्र दलको कागजात छानबिन पूरा गरी आयोगमा पेश गर्न निर्देशन दिएको आयोगले जनाएको छ । 

दर्ता भएका ९५ राजनीतिक दलमध्ये पाँचवटा राजनीतिक दलले एकल निर्वाचन चिह्न लिएर निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगले जनाएको छ । 

संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा हाल १२२ दल दर्ता रहेका छन् । यसअघि स्थानीय तह निर्वाचनका लागि आयोगमा ८० राजनीतिक दलले दर्ता गराएकामा ६३ वटा दलले मात्र भाग लिएका थिए । 

निर्वाचन आयोगमा वार्षिक खर्चको हिसाब बुझाउने दलको सङ्ख्या भने १०२ रहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ