प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकाको सम्झनामा स्वयम्भूमा विशेष पूजा
प्रकाशित २०७४ साउन ३१ मंगलबार
232
Shares
काठमाडौँ । महिला बौद्ध समूहले मुलुकका विभिन्न भागमा आइरहेको प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकाको सम्झनामा स्वयम्भूमा सोमबार विशेष पूजा सम्पन्न गरेको छ ।
बौद्ध गुरुद्वारा पृथ्वीमा भएका समग्र जीव तथा प्राणी जगत्को कल्याण तथा विश्व शान्तिको कामना गर्दै शान्ति पूजा तथा विभिन्न बौद्ध ग्रन्थ पाठ गरिएको छ ।
धर्मकीर्ति विहारका प्रमुख धम्मावतीले मुलुकमा कसैले पनि अकालमा जीवन गुमाउन नपरोस् अनिष्टको अन्त्य होस् भनी बौद्ध ग्रन्थका पाठ गर्दै बुद्धका नैतिक शिक्षा, शान्ति तथा अहिंसाका उपदेश सबैका लागि प्रेरणादायी रहेको प्रवचन दिए ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले धार्मिक गतिविधिका माध्यमबाट समाजमा शान्ति तथा सद्भाव कायम गर्न सकिने बताउँदै स्वयम्भू तथा त्यस आसपास क्षेत्रका पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
समूहकी अध्यक्ष श्रीमिला सुवालले सामाजिक गतिविधिका माध्यमबाट स्वदेशमा बौद्ध दर्शन प्रवद्र्धनमा आफ्नो संस्था क्रियाशील रहेको जानकारी दिइन् ।
समाजसेवी राज्यलक्ष्मी शाक्यले प्राकृतिक प्रकोपका पीडितलाई सहयोग उपलब्ध गराउन आवश्यक कदम चाल्न सरकारसँग माग गरिन् ।
विश्व सम्पदा सूचीमा सूचीकृत उक्त स्थानमा भूकम्पका कारण महत्वपूर्ण सम्पदा तथा मन्दिर जोखिममा छन् । केही सम्पदा जीर्णोद्धारका क्रममा छन् । रासस