को हुन् चितवन महानगरपालिकाकी उपमेयर पार्वती शाह ? यस्तो छ जीवनी
प्रकाशित २०७४ साउन २२ आइतबार
653
Shares
चितवन । विसं २०२४ भदौ ४ गते साविकको गुञ्जनगर गाविस–४ (भरतपुर महानगरपालिका–१८) मा जन्मिएकी उपप्रमुख पार्वती शाहले प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी छिन् । बुबा कृष्णबहादुर शाह र आमा देवीमाया शाहको पहिलो सन्तानको रुपमा जन्मिएकी शाहले कक्षा दश सम्मको अध्ययन गाउँमै गरेकी थिइन् ।
प्रवीणता प्रमाणपत्र तह अध्ययनका क्रममा भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी शाह साविक भरतपुर नगरपालिका–१२ को तरुण दल अध्यक्ष, नगर सदस्य, जिल्ला सदस्य हुँदै काठमाडौँमा गठित नारायणी–बागमती अञ्चलको सम्पर्क समितिको निर्वाचित अध्यक्षसमेत भएर काम गरिसकेकी छिन् ।
हाल उनी नेपाल महिला संघ, चितवनको अध्यक्ष हुन् । शाहले नेपाल तरुण दलको केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव जस्तो जिम्मेवारीसमेत वहन गरिसकेकी छिन् ।
विसं २०६२–०६३ मा भएको जनआन्दोलनका समयमा चार महिना हिरासत जीवन बिताएकी शाह नेपाली काँग्रेसको ११ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनिसकेकी छिन् । रासस