[अपडेट] भरतपुर १९ को मतगणनामा रेणु दाहालको चामत्कारिक मतान्तर, अब मात्र २७१ मत
प्रकाशित २०७४ साउन २१ शनिबार
228
Shares
चितवन । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना जारी रहेको छ । मेयरकी उम्मेदवार माओवादी केन्द्र–काँग्रेस गठबन्धनकी रेणु दाहालले एमालेका देवी ज्ञवालीसंग मतान्तर कम गर्दै लगेकी छिन् ।
यसअघिको निर्वाचनमा देवी ज्ञवालीले ७८४ मतले अग्रता लिएकामा रेणु दाहालले मतान्तर कम गर्ने क्रममा २७१ मतले पछाडि छिन् ।
ज्ञवालीको ४१७७४ मत हुँदा ४१५०३ मत रहेको छ ।
वडा नम्बर १९ मा २८७० मत खसेकामा २४१० मत गणना भइसकेको छ ।
वडा नम्बर २० को मत दिउँसोदेखि गन्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उप मेयरमा नेपाली काँग्रेसकी पार्वती शाहले जित्ने निश्चित भइसकेको छ । एमालेकी दिव्या शर्मा निकै पछाडि छिन् ।
विशेष सुरक्षा व्यवस्थाबीच मतगणना भइरहेको छ । सीसीटीभीबाट मतगणनाको निगरानी भइरहेको छ । चार वटा समूह बनाएर मतगणना भइरहेकाले शनिबार अपरान्हसम्म वडा नम्बर १९ को मतपरिणाम आउने जनाइएको छ ।
यसअघि राजनीतिक दलसँगको सहमतिपश्चात् शुक्रबार राति १०ः३० बजेपछि मतगणनास्थल कभर्डहलमा मतगणना सुरु गरिएको थियो ।
पहिलो चरणको मतगणनाका क्रममा भरतपुर महानगरपालिका वडा नं १९ को मतगणनाको अन्तिम चरणमा आइपुग्दा जेठ १४ गते राति मत्रपत्र च्यातिएको थियो । मतपत्र च्यातिएसँगै रोकिएको मतगणना शुक्रबार पुनःमतदानपछि सुरु गरिएको हो ।
मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा जडान गरिएको छ ।
मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तारजाली लगाइएको छ । दलका प्रतिनिधि जालीभित्र रहनेछन् भने बाहिर कर्मचारीले मतगणना गर्नेछन् । राजनीतिक दलका प्रमुख नेतृत्व, उम्मेदवार र गणना हुने वडाका प्रतिनिधिबाहेक अन्य प्रतिनिधि राखिएको छैन ।