'आफ्नो कार्यकालभित्रै सबै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला’
‘खेलकुदमा देखिएको राजनीतिकरणको न्यूनीकरण गर्छु’
प्रकाशित २०७४ साउन १९ बिहिबार
597
Shares
काठमाडौं । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले ७ वटै प्रदेशमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला स्थापना गर्ने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै आफ्नो कार्यकालमा ७ वटै प्रदेशमा अन्र्तराष्ट्रिय स्तरका रंगशाला बनाउने बताएका हुन् ।
उनले भने, ‘नेपालको खेलकुद क्षेत्रलाई संघीय संरचना अनुसार नै रुपान्तरण गर्नको लागि ७ वटै प्रदेशमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउने छौं, मैले यसको लागि अहिलेदेखि नै अवधारणा अघि सारिसकेको छु।’ उनका अनुसार नेपालगन्ज, पोखरा, झापा, विराटनगर जनकपुर लगायतका शहरहरुमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउने योजना रहेको छ । त्यस्तै काठमाडौंमा रहेको एकमात्रै अन्र्तराष्ट्रिय स्तरको रंगशाला भुकम्पपछि ध्वस्त भएकोले सोको समेत मर्मत सम्भार भैरहेको उनले जानकारी दिए ।
सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले आफ्नो कार्यकालमा नेपालको खेलकुद क्षेत्रलाई सुदृढ र सवल बनाउनको लागि गम्भीर भएर काम गर्ने समेत विश्वास दिलाए । उनले भने, ‘खेलकुद क्षेत्रमा अहिले विभिन्न समस्या देखिएका छन्, एन्फा, ओलम्पिकदेखि क्रिकेट संघमा समेत विवाद छन्, हरेक ठाउँमा विवाद छन्, अहिले १ सय ८० संघ छन्, सबैमा समस्या छन्, विभिन्न संघहरुमा देखिएका सबै समस्याहरुलाई हल गर्नुपर्छ ।’
खेलकुद क्षेत्रमा देखिएका सबै खाले समस्या हल गरेर अघि बढ्नु नै आफ्नो उद्देश्य र प्राथमिकता रहेको भन्दै सोही बमोजिम काम गर्ने समेत मन्त्री केसीले आश्वासन दिए । उनले भने,‘खेलकुदमा राजनीतिकरण भएको छ, यसलाई न्यूनिकरण गर्नु मेरो पहिलो प्राथमिकता हो, म सकेसम्म न्यूनिकरण गर्ने प्रयास गर्नेछु।’ केसीले खेलकुद क्षेत्रमा कुनैपनि हालतमा राजनीति हुन नहुने धारणा राखे ।
उनले खेलकुद क्षेत्रलाई व्यवसायिकरण गर्नु आफ्नो अर्को योजना रहेको सुनाए । उनले भने,‘विश्वमा धेरै खेलाडीहरुले खेलकै माध्यामबाट अर्बो र खर्बो रुपैयाँ आर्जन गरिरहेका छन्, विज्ञापनकामार्फत भनौं या अन्य माध्यामबाट खेलाडीहरुले राम्रो पैसा कमाईरहेका छन् ।’
त्यस्तै उनले आगामी डेढ वर्षभित्रै नेपालमा हुने साग प्रतियोगिताको तयारीमा नेपाली खेलाडीहरुलाई क्लोज क्याम्पमा होम्याईसकेको समेत जानकारी दिए । उनले भने,‘सागको लागि हामीले २८ वटा खेलको तयारी गरेका छौं, अहिलेदेखि नै तयारी धमाधम भैरहेको छ ।’
खेलको विकास गर्नको लागि पर्याप्त बजेट अर्थात एक अर्ब ६० करोड छुट्याइएको समेत उनले जनाए । उनले भने,‘युवाहरुको लागि कम बजेट छ, तर खेलको विकासको लागि धेरै ठूलो बजेट छुट्याईएको छ, त्यही अनुसार अब हरेक खेलहरुको विकास र स्तरोन्नती हुन्छन्, मेरो कार्यकालमा म परिवर्तनको आभाष दिलाएरै छाड्छु ।’