खेलकुद मन्त्री केसी भन्छन् –चौबीस दिन भित्र अनुभूति हुन्छ
प्रकाशित २०७४ साउन १६ सोमबार
199
Shares
काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले चौबीस दिनमा खेलकुदमा परिवर्तनको अनुभूति गराउने गरी काम गर्ने बताएका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनकै सम्मानमा आयोजना गरेको बधाइ तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले भने– ‘म ५ महिना, ९ महिना भन्दिन । २४ दिनमै खेलकुदमा परिवर्तनको अनुभूति गराउने गरी काम गर्नेछु ।’
उनले समय कम भएकाले साग आयोजना ठूलो चुनौती भएको बताउँदै बजेटका कारण खेलकुदको विकासमा असर पर्न नदिने प्रतिबद्धता जनाए ।
उनले कार्यक्रम, क्यालेन्डर र नीति–तिथि अनुसार कार्यक्रम प्रस्तुत गरे बजेट ल्याउन आफू पहल गर्न तयार रहेको बताए ।
उनले लोकतन्त्रमा लोकतान्त्रिक पद्धति अनुसार खेल संघको विवाद समाधान गर्ने बताउदै दलगत स्वार्थ भन्दा माथि उठेर काम गर्ने बताए । उनले कसैलाई पनि विभेदको अनुभूति हुन नदिने पनि स्पष्ट पारे ।
राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाले मन्त्रीको कार्यकाललाई सफल बनाउन सिंगो परिषद् एक ढिक्का भएर सहयोग गर्ने बताउदै कार्यकाल सफलताका लागि शुभकामना दिए ।
राखेपका सदस्य–सचिव केशवकुमार विष्टले फरक पार्टीको मन्त्री भएकै कारण खेलकुदमा विवाद आउन नदिने बताउँदै सबैको पहलले मात्र खेलकुदको समस्या हल हुने बताए ।
उनले आफ्नो दुई वर्षे कार्यकालमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक पदक जितेको, सर्वाधिक प्रतियोगिता भएको, सबैभन्दा बढी भौतिक पूर्वाधार निर्माण भएको, खेलाडीले सुविधा पाएको स्मरण गर्दै त्यसको पुस्तक चाँडै सार्वजनिक गर्ने जानकारी गराए ।
कार्यक्रममा राखेपका अध्यक्षसमेत रहेका मन्त्री केसीलाई सदस्य–सचिव विष्टले राखेपको तर्फबाट माया चिनो प्रदान गर्दै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए ।
सोही अवसरमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले पनि मन्त्री केसीलाई मायाको चिनो प्रदान गरेका थिए ।