भरतपुर १९ : 'सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण, गलत नजिर बस्यो’
प्रकाशित २०७४ साउन १५ आइतबार
650
Shares
काठमाडौं । प्रमुख विपक्षी एमालेले भरतपुर महानगर १९ नम्बर वडामा पुनः मतदान गर्न भन्दै सर्वोच्चले गरेको फैसला दुर्भाग्यपूर्ण भनेको छ ।
सर्वोच्चले पुनः मतदान गर्न भनि गरेको फैसलालाई सत्ताधारी दलहरुले स्वागत गरेका छन् । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनः मतदान गराउने फैसला सुनाएको हो ।
पुनःमनतदान नभई मत गणना नियमित गर्न भनि परेको रिट खारेज गरेर सर्वोच्चले निर्वाचन आयोगको निर्णय सदर हुनेगरी फैसला गरेको छ ।
एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘यो फैसला दुर्भाग्यपूर्ण हो । जनमतको अवमूल्यन हो । भरतपूरका मतदातामाथिको घात हो ।’
नियतवस मतपत्र च्यातेर जसरी पनि जित्नुपर्छ भन्ने मानसिकतालाई यो निर्णयले बढावा दिन्छ, उनले भने, ‘अब यो गलत नजिर बस्यो ।’ यद्यपि, एमालेले सर्वाेच्चकाे निर्णय अाफुहरुलाई स्वीकार्य रहेकाे र मतदानमा सहभागि हुने जनाएकाे छ ।
निर्वाचन आयोगले पुनः मतदान गर्न भन्दै गरेको निर्णय रद्द गर्न र पुनः मतदान नभई पुनः मतगणनाको माग गरेर भरतपुर–१९ मा एमालेबाट वडा सदस्यका उम्मेदवार गुञ्जमान बिक र १९ नम्बर वडाकै मतदाता समेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले जेठ २१ गते रिट दर्ता गरेका थिए ।
रिट निवेदकका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले निर्वाचन आयोगले भनेको जस्तो यो कब्जा भएको होइन, भने । निर्णय सुन्दा अचम्म लाग्यो, उनले अगाडि थपे, ‘बाहिरबाट घुसपैठ भएर विध्वंस नै भयो र मतपत्र नष्ट भयो भने त्यसलाई मतगणनास्थल कब्जा भएको भन्न मिल्छ । त्यस्तो अवस्थामा मात्रै अन्य मूलुकमा पुनः मतदान हुन्छ । हामी कहाँ अब गलत नजिर बस्यो । मतपत्र नस्ट नभएको अवस्था त्यो मतदाई नहेरर गणना गर्नु पर्ने हो ।’ हामीले मतगणना गर्नु पर्छ भन्ने पक्षमै बहस गरेका हौँ ।