स्वाइन फ्लुबाट एकको मृत्यु, सचेत रहन स्वास्थ्यकर्मीको आग्रह
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ साउन १२ बिहिबार
784
Shares
वालिङ । स्वाइन फ्लुका कारण स्याङ्जाको वालिङमा एकजनाको मृत्यु भएको पुष्टि भएको छ । उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको गत सोमबार मृत्यु भएको हो ।
“अर्यालको मृत्यु स्वाइन फ्लुका कारण भएको पुष्टि सरुवा रोग नियन्त्रण महाशाखाबाट हामीलाई प्राप्त भएको छ”, वालिङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन तथा सञ्चालक समितिका संयोजक दिलीपप्रताप खाँणले भने, “वालिङ तथा आसपासका क्षेत्रमा स्वाइन फ्लुको प्रकोप हुन सक्ने भएकाले सचेत भएर रहन स्थानीयवासीलाई आग्रह गरेका छौँ ।”
अर्यालको मृत्युसँगै अहिले वालिङ तथा आसपास बासिन्दा स्वाइन फ्लुका कारण त्रस्त छन् ।
स्वाइन फ्लुको नमूना परीक्षणका लागि काठमाडौंबाट भोलि शुक्रबार एक टोली वालिङ आउँदै छ भने आवश्यक औषधि बिहिबार आइसकेको छ ।
“असार २६ गते बिहान ८ बजे मृतक अर्याल अत्यधिक टाउको दुख्यो भनेर यहाँ आएको थियो हमिले उनलाई अन्यत्र जान सिफारिस गरेका थियौँ”, स्वास्थ्य केन्द्रका चिकित्सक प्रवीण घिमिरेले भने, “हाल वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक आउने १०० जना बिरामीमा ७० जनासम्म टाउको दुख्ने र ज्वरोसम्बन्धी समस्याका छन् ।”
स्वास्थ्य केन्द्रले सामान्य औषधि दिएर उपचारका लागि पोखरा पठाइएका अर्याल पोखराबाट ग्राण्डी अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल लगेकामा त्यही उनको दुई दिनपछि मृत्यु भएको थियो ।
“वालिङ तथा आसपासका क्षेत्रबाट पोखरा तथा काठमाडौँमा सात–आठजना बिरामीलाई सिफारिस गरी पठाइएको अवस्था छ”, अध्यक्ष खाँणले भने– “जो कोहीलाई पनि लामो समयसम्म रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ, घाँटीसम्बन्धी समस्या भएमा शुक्रबारका दिन प्राथमिक स्वास्थ्य केन्द्रमा आउन पनि आग्रह गर्छु ।”
स्वाइन फ्लु बंगुरबाट मानिसमा सर्ने भएकाले घर नजिकै बंगुर नपाल्न पनि आग्रह गरिएको छ । स्वाइन फ्लुबाट बच्न हात नमिलाउन, अंकमाल नगर्न, मास्क प्रयोग गर्न, भीडभाडमा नजान, संक्रमित वस्तुको सम्पर्कमा नरहन, चिकित्सक घिमिरेले सुझाव दिए ।
पछिल्लो समय वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढेको स्वास्थ्य केन्द्रले जनाएको छ ।