१० दिन कांग्रेसले कब्जा गरेको भीमदत्तमा एमाले विजयी
उपमेयरमा भने काँग्रेसनै
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ असार २३ शुक्रबार
519
Shares
कञ्चनपुर । १० दिन देखि कांग्रेसले कब्जा गरेको कञ्चनपुरको सबैभन्दा पुरानो भीमदत्त नगरपालिकामा एमाले विजयी भएको छ । शुक्रबार सम्पन्न मत परिणाम अनुसार एमाले का उम्मेदवार सुरेन्द्र विष्टले नेपाली काँग्रेसका पदम बोगटीलाई १६६ मतको अन्तरले हराउदै भीमदत्त नगरको मेयरमा पदमा निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृत प्रकाश ढुङ्गानाका अनुसार भीमदत्त को मेयरमा सुरेन्द्र विष्ट र उप प्रमुखमा नेपाली काँग्रेसी सुशिला सिह निर्वाचित भएकी हुन् । विष्टले ११ हजार, ८३१ र बोगटीले ११ हजार ६६५ मत ल्याएका थिए । निर्वाचनको मत गणनाको सुरूबाट लगातार काँग्रेस उम्मेदवार बोगटीले अग्रता लिएको भएपनि मत गणनाको अन्तिम समयमा एमाले का विष्टले एक्काएक अग्रता लिएका थिए ।
उप मेयरमा भने नेपाली काँग्रेसका उम्मेदवार सुशिला चन्द निर्वाचित भएका छन् । चन्दले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका माया पन्तलाई ९३९ मतको अन्तरले पराजित गर्दै उप मेयरमा विजयी भएकी छिन् । चन्दले १२ हजार ७७५ र पन्तले ११ हजार ८३६ मत ल्याएका थिए ।
भीमदत्तका १० वडा एमाले, ७काँग्रेस र २ वडामाओवादी केन्द्रले जितेको छ । एमालेले ६, ८, ९, १०, १४, १५, १६, १७, १८ र १९, काँग्रेसले १, ३, ४, ५, ११, १२, १३ र माओवादी केन्द्रले २ र ७नम्बर जितेको छ । जिल्लाको पहिलो नगरपालिका रहेको भीमदत्तमा कुल ५६ हजार १७४ मतदाता मध्ये ३७ हजार ३७० मत खसेका थिए ।