तिलोत्तमा (रुपन्देही) । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका प्रमुखका उम्मेदवार वासुदेव घिमिरे १९ हजार ८४ मतसहित विजयी भए भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामकृष्ण खाँणले १६ हजार २६४ मत प्राप्त गरे ।
राष्ट्रिय जनमुक्ति मोर्चा र काँग्रेसको गठबन्धन भएको तिलोत्तमामा प्रमुख र उपप्रमुखसहित बहुमत वडामा एमालेले विजय हासिल गरेको हो । उपप्रमुखमा एमालेकी जागेश्वरी चौधरी १९ हजार २२४ मतसहित विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी जनमुक्तिकी गीता सारुले १६ हजार छ मत प्राप्त गरिन् । यो नगरमा जनमुक्तिले रुख चिह्नबाटै चुनाव लडेको थियो ।
सत्र वटा वडा रहेको तिलोत्तमामा वडा नं ९, १०, १६ र १७ काँग्रेस गठबन्धनले जितेको छ भने अरु १३ वटा एमालेको प्यानल विजयी भएको छ । तिलोत्तमा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणको चुनाव क्षेत्र हो ।