भीमदत्त ४ मा काँग्रेसको प्यानल विजयी, मेयरमा काँग्रेसकै अग्रता
ईश्वर दत्त बडू
प्रकाशित २०७४ असार १९ सोमबार
481
Shares
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामो वडा नम्बर ४ मा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ । सोमबार साँझ सम्पन्न मत परिणाम अनुसार भीमदत्त–४ मा नेपाली काँग्रेसका लक्ष्मीदत्त बोहरा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्ष बोहराले ५२ मतको अन्तरले नेकपा एमालेका दिपेशराज भट्टलाई पराजित गरेका हुन् । बोहराले ५९२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी भट्टले ५४० मत प्राप्त गरेका छन् ।
सदस्यहरुमा नेपाली काँग्रेसका ईश्वरी जोशी, सुशिलप्रसाद भट्ट, सीता भट्ट र पुष्पा जैरु निर्वाचित भएका छन् । कञ्चनपुका ९ स्थानीय तहमध्ये २ स्थानीय तहमा कांग्रेस, एमाले र माओवादीले १–१ स्थानीय तहमा अग्रता लिएको छ ।
जिल्लाकै ठूलो भीमदत्त र बेलौरी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । यस्तै कृष्णपुर नगरपालिकामा माआवादी र पुनर्वास नगरपालिकामा एमालेले अग्रता लिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भीमदत्त नगरपालिकामा वडा नम्बर ५, ६, १५ र १८ को मत गणना कार्य जारी रहेको छ । भीमदत्त नगरपालीकाको मेयरमा भने नेपाली काँग्रेसकै अग्रता रहेको छ ।
१४ हजार ५ सय मत गनिदा नेपाली काँग्रेस ६ सय ३७ मत सहित अग्र स्थानमा रहेको छ । नेपाली काँग्रेसले ५ हजार ६ सय ९७ मत प्राप्त गरेको छ । निकटमत प्रतिद्वन्द्वीका रुपमा रहेको नेकपा एमाले ५ हजार ६० मत प्राप्त रहेको छ ।
यस्तै राप्रपा भने १ हजार ९ सय ८२ मत सहित तेस्रो स्थानमा रहेको छ । माओवादी केन्द्र १ हजार ९ सय २९ मत प्राप्त गरी चौथो स्थानमा रहेको छ ।