प्यूठानमा यस्तो पर्यो भाग : काँग्रेस र एमाले ३–३, जनमोर्चा २
प्रकाशित २०७४ असार १८ आइतबार
147
Shares
प्यूठान । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा जिल्लाको नौवटा मध्ये आठवटा तहको परिणाम सार्वजनिक भएको छ । नेपाली काँग्रेस र नेकपा एमाले तीन–तीन तथा राष्ट्रिय जनमोर्चा दुई वटा स्थानीय तहमा विजयी भएको छ ।
काँग्रेस गौमुखी, नौबहिनी र ऐरावती गाँउपालिकामा, एमाले स्वर्गद्वारी नगरपालिका, माण्डवी गाँउपालिका र सरुमारानी गाँउपालिका तथा राष्ट्रिय जनमोर्चा झिमरुक र मल्लरानी गाउँपालिकामा विजयी भएको हो ।
गौमुखी गाँउपालिकाको अध्यक्षमा काँग्रेसका विष्णुकुमार गिरी तीन हजार ७४२ मत ल्याई विजयी भए । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र र राजमोका संयुक्त उम्मेदवार विधुर मल्लले दुई हजार ५७४ मत प्राप्त गरे । उपाध्यक्षमा काँग्रेसकी तुल्सी सुनार तीन हजार ९० मतसहित विजयी भए भने, उनका निकटतम प्रतिस्पर्धी एमालेकी ज्ञानुमाया केसीले दुई हजार ६२७ मत प्राप्त गरे ।
यस्तै नौबहिनी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका शिव रिजाल पाँच हजार ७३५ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमाले र राजमोका संयुक्त उम्मेदवार डिलाबहादुर थापाले चार हजार ७७५ मत पाए । उपाध्यक्षमा माओवादी केन्द्र र काँग्रेसका संयुक्त उम्मेदवार घनबहादुर बुढाले पाँच हजार २०५ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले र राजमोका संयुक्त उम्मेदवार रामबहादुर केसीले तीन हजार ७२५ मत प्राप्त गरे ।
यसैगरी ऐरावती गाउँपालिकाको अध्यक्षमा काँग्रेसका नविलविक्रम शाह दुई हजार ४९० मत ल्याई विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमाले र माओवादी केन्द्रको संयुक्त उम्मेदवार टिकाबहादुर गुरुङले दुई हजार ४७४ मत प्राप्त गरे । उपाध्यक्षमा माओवादी केन्द्रका बुद्धबहादुर वस्नेत दुई हजार १९९ मत ल्याई विजयी भए । वस्नेतले निकटतम प्रतिस्पर्धी काँग्रेसकी जलजला थापालाई पराजित गरे ।
यसैगरी स्वर्गद्वारी नगरपालिकाको नगर प्रमुखमा एमालेका नेत्रबहादुर रोकाय चार हजार ५९८ मत ल्याई विजयी भए । माओवादी केन्द्र र राजमोका संयुक्त उम्मेदवार वीरबहादुर पुनले तीन हजार ६४५ मत ल्याए । उपप्रमुखमा एमालेकी गोमा रेग्मी चार हजार ४५८ मत ल्याई विजयी भइन् । माओवादी केन्द्रकी दुर्गा रेग्मीले तीन हजार ३७० मत ल्याइन् ।
माण्डवी गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीधर रोकाय एक हजार ७५३ मत ल्याई विजयी भए । माओवादी केन्द्रका नवराज अधिकारीले एक हजार ७४१ मत ल्याए । उपाध्यक्षमा माओवादी केन्द्रकी मुगा पुन एक हजार ८३५ मत ल्याई विजयी भइन् । एमालेकी सम्झना घर्तीले एक हजार ७६९ मत प्राप्त गरिन् ।
सरुमारानी गाउँपालिकाको अध्यक्षमा एमालेका झगबहादुर बिश्वकर्मा तीन हजार ६७७ मत ल्याई विजयी भए । माओवादी केन्द्रका दोरबहादुर दर्लामी मगरले दुई हजार २४१ मत ल्याए । उपाध्यक्षमा एमालेकी मीना सोमै तीन हजार ६८० मत ल्याई विजयी भए । उनले माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरे ।
यस्तै, झिमरुक गाउँपालिकाको अध्यक्षमा राजमोका तिलक जिसी तीन हजार ६६० मत ल्याई विजयी भए । निकटतम प्रतिस्पर्धी पितबहादुर एमसीले दुई हजार ७८२ मत ल्याए । उपाध्यक्षमा राजमोकी पवित्रा जिसी तीन हजार ७७९ मत ल्याई विजयी भइन् । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी राधा जिसीले दुई हजार ५२६ मत प्राप्त गरे ।
मल्लरानी गाउँपालिकाको अध्यक्षमा राजमोका अम्मरध्वज राना विजयी भए । उनले एमालेका इमानसिंह भारतीलाई पराजित गरे । उपाध्यक्षमा राजमोकै सरीता जिसी विजयी भए । उनले एमालेकी सरस्वती पोखरेललाई पराजित गरिन् ।
प्यूठान नगरपालिकाको मतगणना जारी छ । हाल सम्म गणना भएको चारवटा वडामा एमाले, राजमो, काँग्रेस र माओवादी केन्द्र एक–एक वटा वडाध्यक्षमा विजयी भएका छन् ।