काठमाडौं । नेकपा एमाले अहिलेसम्मको ताजा मतपरिणाममा स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको छ । पहिलो चरणको निर्वाचनमा देखिएको एमालेको अग्रता उसले दोस्रो चरणको निर्वाचनमा पनि कायम राखेको छ ।
दोस्रो चरणको निर्वाचनमा भएको १ नं प्रदेशका विभिन्न जिल्लाहरुमा एमालेले अग्रता लिईरहेको बेलामा सुनसरीमा भने एमालेको स्थिती ज्यादै दयनीय रहेको देखिएको छ । सुनसरीका कूल १२ स्थानीय तह मध्ये ७ वटामा नेपाली काँग्रेसले अग्रता हाँसिल गरेको छ । राती २ बजेसम्मको मतपरिणाम अनुसार धरान उपमहानगरपलिकामा मात्रै नेकपा एमाले झिनो मतले अग्रस्थानमा रहेको छ । त्यहाँ एमालेका तारा सुब्बा २९सय ९९ मतका साथ अग्रस्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका तिलक राई २८ सय ७९ मतका साथ दोस्रो स्थानमा छन् । उपमेयरमा पनि एमालेकी मञ्जु भण्डारी अगाडि छिन् ।
यस बाहेक नेपाली काँग्रेसले बराह नगरपालिका, रामधुनी नगरपालिका, इनरुवा नगरपालिका, गढी गाउँपालिका, देवाङ गञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र इटहरी उपमहानगरपालिकामा अग्रता हाँसिल गरेको छ । त्यस्तै, भोक्राहा गाउँपालिकामा संघीय समाजवादी फोरम, वर्जु गाउँपालिकामा नेकपा माओवादी केन्द्र, दुवही नगरपालिकामा फोरम लोकतान्त्रिक र कोशी गाउँपालिकामा स्वतन्त्रले अग्रता हाँसिल गरेका छन् ।
जबकी एमालेले नजिकैको धनकुटा जिल्लामा सबै स्थानीय तहमा कब्जा जमाएको छ । तर, सुनसरीमा भने वडाको कुरा नगर्दा एमालेको अहिलेसम्म झिनो अग्रताको उपस्थिती भन्दा रहेको छैन ।