इलाम । सन्दकपुर गाउँपालिकामा नेकपा एमाले अध्यक्ष उपाध्यक्षसहित विजयी भएको छ । एमालेका अध्यक्षमा उदय राई र उपाध्यक्षमा शोभा पराजुली विजयी भएका हुन् ।
राई चार हजार छ सय २९ मतले विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका देवेन्द्र सुवेदीले दुई हजार तीन सय ५४ मत प्राप्त गरे ।
उपाध्यक्षमा पराजुलीले तीन हजार नौ सय ३० मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सविता गुरुङले दुई एक सय ७२ मत प्राप्त गरिन् ।
पछिल्लो परिणामअनुसार सन्दकपुर वडा– ४ र ५ मा एमालेको समूह नै विजयी बनेको छ । वडा नं ४ का वडाध्यक्षमा एमालेका वर्तमान गुरुङ ७६१ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका ढालबहादुर गुरुङले पाँच सय ७३ मत प्राप्त गरे । सन्दकपुर– ५ मा एमालेका जितबहादुर सावाले नौ सय ९५ मतसहित जित हासिल गरे । उनका निकटतम प्रतिद्वन्द्वी तुलसीराम भट्टराईले छ सय ४८ मत प्राप्त गरे ।
यसअघि सम्पन्न वडा नं १, २ र ३ को मत परिणामबाट क्रमशः माओवादी केन्द्रबाट वडाध्यक्षमा नन्दकुमार थुलुङ र एक खुला सदस्य र एमालेबाट तीन सदस्य, वडा २ मा एमालेका वडाध्यक्ष गिरिराज खनालसहितको समूह र वडा नं ३ मा एमालेका वडाध्यक्ष कृष्ण पाठकसहितको समूह विजयी भइसकेको छ ।
माङसेबुङ–४ मा एमाले र १ मा काँग्रेस
माङ्सेबुङ गाउँपालिकाका–४ मा वडाध्यक्षसहित नेकपा ९एमाले०को समूह विजयी भएको छ ।
एमालेका वडाध्यक्षका उम्मेदवार अमृतबहादुर राईले दुई सय ७९ मत, महिला सदस्यमा विष्णुकुमारी लिम्बू दुई सय ९७, दलित महिला सदस्यमा गोमादेवी विक दुई सय ९१, खुल्ला सदस्यमा धनप्रसाद राई तीन सय आठ र खुला सदस्यमा सन्तकुमार कामी दुई सय ९१ मत ल्याई विजयी भए ।
मङ्सेबुङ–१ का सबै पदमा काँग्रेसको समूह विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका भक्तराज लिम्बूले छ सय एक मत, महिला सदस्यमा कृष्णमाया कार्की पाँच सय ७६, दलित महिला सदस्यमा टीका लुहागुन छ सय २६, खुला सदस्यमा ठगबहादुर श्रेष्ठ पाँच सय ८९ र पूर्णबहादुर नेपाल पाँच सय १८ मत प्राप्त गरी विजयी भएका हुन् । मङ्सेबुङ–५ मा मतगणना जारी छ ।
फाकफोकथुम गापा–२ मा काँग्रेस विजयी
फाकफोकथुम–२ मा काँग्रेसका वडाध्यक्षसहित समूह नै विजयी भएको छ । काँग्रेसका यामबहादुर पौडेल पाँच सय ३७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदमबहादुर तामाङले चार सय ७८ मत प्राप्त गरे ।
काँग्रेसका महिला सदस्यमा हर्कमाया राई पाँच सय १२, दलित महिला सदस्यमा बालकुमारी परियार पाँच सय ३७, खुला सदस्यमा खड्गबहादुर राई पाँच सय १५ र डम्बरबहादुर थापाले पाँच सय ८५ मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृत लीलाराज पौडेलले जानकारी दिए । रासस