arrow

रुपन्देहीमा कसको अग्रता कहाँ ?

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
rupandehi_district_map.png

बुटवल। रुपन्देहीमा दोश्रो चरणअन्तर्गत भएको स्थानीय तहको निर्वाचन परिणाम आउन थालेका छन् । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणाम अनुसार बुटवल उपमहानगरपालिकाका दुईवटा वडामा नेकपा एमालेका वडा अध्यक्षसहित बहुमत सदस्य विजयी भएको छन् । 

यस्तै एक वडामा नेपाली काँग्रेस र एक वडामा नयाँ शक्ति र सङ्घीय समाजवादी फोरमको संयुक्त समूह विजयी भएका छन् । बुटवल उपमहानगरपालिकाका वडा नं– १ मा नेकपा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार महेन्द्रप्रसाद लिङ्गलले ६५९ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नरेन्द्र बस्नेतले ५२५ मत प्राप्त गरेका छन् । 

त्यस्तै उक्त वडाका महिला सदस्य नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ भने दलित महिला सदस्यसहित तीन सदस्यमा नेकपा एमालेका उम्मेदबार निर्वाचित भएका छन् । बुटवल उपमहानगरपालिकामा भर्खरै सम्पन्न वडा नं– १ को मतगणनाअनुसार नगर प्रमुखमा नेपाली काँग्रेसका खेलराज पाण्डेले ९७७ मतले अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका शिवराज सुवेदीले ५९४ मतले पछ्यार्इरहेका छन् ।  

यस्तै उपप्रमुखमा नेकपा एमालेकी गोमा आचार्य ६८४ मतले अगाडि रहेका छन्  । नेपाली काँग्रेस– (माओवादी केन्द्र)का उम्मेदबार जगतबहादुर पोखरेलले ६८२ मत प्राप्त गर्नुभएको छ । यस वडामा एक हजार ८७१ मतदान भएको थियो । 

यस्तै सैनामैना नगरपालिका– ९ मा नेकपा एमालेको समूह विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार डोलराज भण्डारीले ७५३ मत ल्याएर विजयी भएका छन्। त्यसैगरी महिला सदस्य, दलित महिला सदस्या र खुल्ला सदस्यमा पनि एमाले समूहनै विजयी भएको हो । रुपन्देहीका शुद्धोधन गाउँपालिकाबाट फोरम नेपालले जितको खाता खोलेको छ । शुद्धोधन गाउँपालिकाको वडा नं– १ बाट नयाँशक्ति र फोरम नेपालको तर्फबाट संयुक्त उम्मेदवार बनेका फोरमका उदयराज गडरिया विजयी भएका छन्। 

उनले ८४९ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जङ्गबहादुर यादवले ५६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीले जानकारी दिए। यसैबीच रुपन्देहीका सम्मरीमाई गाउँपालिकाको वडा नं–१ को अध्यक्षमा काँग्रेसको समूह विजयी भएको छ । अध्यक्षका उम्मेदवार शिवकुमार यादवले ७५६ मतसहित विजयी भएका छन् । जिल्लाको अधिकांश तहको मत गणना आज बिहानदेखि सुरु भएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ