काठमाडौं । दोस्रो चरणको निर्वाचनको एक मात्र महानगर विराटनगर महानगरपालिकामा ढिलो गरी मत गणना भइरहेको छ । १०० मत गणना हुँदा काँग्रेसलाई प्रारम्भिक अग्रता मिलेको छ । काँग्रेसले ४६ मत ल्याउँदा एमालेले ३४ र माओवादी-समाजवादी फोरम गठजोडले १२ मत ल्याएको जिल्ला सहकर्मी कुमाेद अधिकारीले जानकारी दिए । उपमेयरमा काँग्रेस ३७, एमाले-फाेरम लाेकतान्त्रिक गठजाेड १७, माअाेवादी-फाेरम नेपाल गठजाेडले १६ मत ल्याएकाे छ ।
विराटनगरको आदर्श स्कुलमा महानगरको मतगणना भइरहेको छ । सुरुवातमा एक ठाउँमा मात्रै मतगणना भइरहेकाले ढिलो गरी मतगणना भइरहेको बताइएको छ । सुरुमा १ नम्बर वडाको मतगणना भइरहेको छ ।
विराटनगर महानगरमा नेपाली कांग्रेसका तर्फबाट भीम पराजुली मेयरको उम्मेदवार छन् । एमालेको तर्फबाट विनोद ढकाल तथा समाजवादी फोरम र माओवादी केन्द्र गठजोडबाट मेयरमा उमेशकुमार यादव चुनावी मैदानमा छन् ।
एमालेको फोरम लोकतान्त्रिकसँग गठजोड छ । एमालेले उपमेयरमा फोरम लोकतान्त्रिककी सूची चौधरीलाई उम्मेदवार बनाएको छ । १९ वडा रहेको विराटनगरमहानगरमा १ लाख १२ हजार ८ सय ३२ मतदाता छन् । मोरङमा कुल ७० प्रतिशत मतदान भएको छ ।