अर्धकट्टीसहित मत खसेको थाहा नपाउने मतदान अधिकृतलाई कारबाही हुने
प्रकाशित २०७४ असार १५ बिहिबार
616
Shares
इलाम । सर्वदलीय छलफलमा कुरा मिलेपछि इलामको देउमाई नगरपालिकाको मत गणना सुरु भएको छ ।
सर्वदलीय बैठकमा अर्धकट्टी सहितको खसालिएको मतपत्रको अर्धकट्टीलाई नदेखाएर त्यो मतपत्रलाई अन्य मतपत्रमा मिसाएर मत गणना गर्ने सहमति भएको बताइएको छ ।
निर्वाचन अधिकृत प्रेमप्रसाद दाहालले अर्धकट्टीसहित मतपत्र मतदातालाई मतदान गर्न दिने मतदान केन्द्रका मतदान अधिकृत धनराज ठाकुरलाई आवश्यक कारबाहीको लागि पत्र लेखि पठाउने समेत निर्णय भएको बताएका छन् । मतपत्र बढी भएको खण्डमा पुनः मतदान गर्ने र मुचुल्कामा उल्लेख भएकै संख्यामा मत भए परिणाम स्वीकार्ने समेत सहमति भएको छ ।
देउमाई नगरपालिका–३ को महेन्द्रोदय आधारभूत विद्यालयको ‘क’ मतदान केन्द्रका अधिकृत ठाकुरले ९४ थान मतपत्र अर्धकट्टीसहित मतपेटिकामा खसालिएको थाहा भएपछि मात्रै थाहा पाएका थिए । केन्द्रमा १४ सय ८४ मतदाता रहकोमा ८४ प्रतिशत मत खसेको छ । मत गणना सुरु भएर प्रारम्भिक परिणाम समेत सार्वजनिक भइसकेको छ । प्रारम्भिक नतिजामा काँग्रेस अगाडि छ ।