बैतडीका सबै स्थानीय तहमा बिहीबारदेखि मात्रै मतगणना हुने
प्रकाशित २०७४ असार १४ बुधबार
316
Shares
काठमाडौं । बैतडीका सबै स्थानीय तहहरुमा भोलि (बिहीबार) देखि मात्रै मतगणना सुरु हुने भएको छ । सबै मतपेटिका केन्द्रमा आइपुग्न समय लाग्ने भएकाले बिहीबारदेखि मात्रै मतगणना सुरु गर्न लागिएको जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद फुँयालले जानकारी दिए ।
जिल्लाका ठुला तथा पुराना नगरपालिका मानिने पाटन नगारपालिका र दशरथ चन्द नगरपालिकामा बिहीबार बिहान ७ बजेबाट मतगणना सुरु हुने र अन्यमा दिउँसोदेखि मात्रै मतगणना हुने जिल्ला निर्वाचन अधिकृत फुयाँलले जानकारी दिए ।
दशरथ चन्द नगरपालिकामा मत पेटिका जमा भइसकेको र पाटनमा अझैँ मतपेटिका आइ नपुगेकाले यी दुइटै नगरपालिकामा बिहीबार बिहान ७ बजेबाट मात्रै मतगणना हुने उनले बताए ।
उनले सिमसिम पानी परिरहेकोले मतपेटिका जम्मा गर्नमा केही ढिलाई हुने संकेत गर्दै अन्य स्थानीय तहमा बिहीबार दिउँसोबाट मात्रै मत गणना सुरु हुने बताए । जिल्लामा ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी कुल १० वटा स्थानीय तह रहेका छन् । जसमा सबै भन्दा पुराना र ठुला नगरपालिका भएकाले पाटन नगरपालिका र दशरथ चन्द नगरपालिकाको निर्वाचन भने सबैको चासोको विषय बनेको छ ।