दोस्रो चरणको स्थानीय निर्वाचनः मतदान सुरु, मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म
प्रकाशित २०७४ असार १४ बुधबार
292
Shares
काठमाडौँ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नं १, ५ र ७ मा मतदान सुरु भएको छ । निर्वाचन आयोगले बिहान ७ देखि साँझ ५ बजेसम्म निर्वाचन गर्न सकिने जनाएको छ ।
५ बजेभित्र मतदानका लागि लाइनमा बसेकाले मतदान गर्न सक्ने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जनाएका छन् । मतदानका लागि बिहानैदेखि वर्षालाई चुनौती दिंदै मतदाता लाइन लागेका थिए ।
निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ४१ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्वाचनका लागि आठ हजार ३६४ मतदान केन्द्र तोकिएको छ । स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य चयन हुनेछन् ।
निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् ।
यसका लागि देशभर चार हजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।
पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ मा निर्वाचन भएको थियो भने प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा आगामी असोज २ गतेका लागि तोकिएको छ ।