तुलसीपुर । गृहमन्त्री जनार्दन शर्माले स्थानीयतहको निर्वाचनमा जनता निकै उत्साहित रहेको र राजनीतिक दलहरुबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण देखिएको बताएका छन् । उनले सोमबार बिहान यहाँ पत्रकारसँग गरिएको साक्षात्कार कार्यक्रममा सो कुरा बताएका हुन् ।
गृहमन्त्री शर्माले शान्ति सुरक्षाको दृष्टिकोणले कुनै कमीकमजोरी नरहेकाले निर्धक्क भएर निर्वाचनमा भाग लिन सबैलाई आग्रह गरे । उनले पहिलो चरणको निर्वाचनमा एकाध घटनाबाहेक पूर्णत शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण रुपमा हुने विश्वास व्यक्त गरे ।
गृहमन्त्री शर्माले राजनीतिक समस्या समाधान गर्नका लागि तीन चरणमा निर्वाचन गराउनु परेको स्पष्ट पार्दै भने ‘शान्ति सुरक्षा पुर्याउन नसक्ने भएर होइन ।’
उनले निर्वाचन बिथोल्न अघि सरेको नेकपा (माओवादी विप्लव) समूहले पनि थवाङलगायत कतिपय स्थानमा निर्वाचनमा भाग लिइरहेको बताए ।
त्यस्तै संविधानप्रति असन्तुष्ट रहँदै आएको राष्ट्रिय जनता पार्टी राजपा कै सहमतिमा प्रदेश नम्बर २ मा असोज २ गते निर्वाचन गर्न सरकार तयार भएको उनको भनाइ छ ।
गृहमन्त्री शर्माले स्थानीय निकायको निर्वाचन सम्पन्न भएपछि मङ्सिरभित्रै अन्य निर्वाचन गरिसक्ने तयारी सरकारले गरेको बताए । रासस