सिद्धार्थ नगरपालिका काँग्रेसका मेयर उम्मेदवार यादव भन्छन् – ग्रामीण क्षेत्रको शहरीकरण हुनेछ
प्रकाशित २०७४ असार ९ शुक्रबार
743
Shares
भैरहवा । नेपाली काँग्रेस सिद्धार्थनगरका मेयर उम्मेदवार मातृकाप्रसाद यादवले नगरपालिकाभित्रै रहेर पनि नगरपालिकामा बसेको महसुस गर्न नसकेका सिद्धार्थनगरका बस्तिहरुको शहरीकरण गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।
सिद्धार्थ नगरपालिका वडा नं १० मा भएको घरदैलो अभियानको क्रममा उनले नगरपालिकालाई सवै करहरु बुझाएर पनि बिकासबाट बञ्चित ग्रामीण क्षेत्रमा सडक, ढल निमार्णलाई पहिलो प्राथमिकता दिने बताए ।
उनले वडा नं १० र ११ मा रहेका ग्रामीण वस्तिहरुमा पक्की सडक, ढल , विद्युत , खानेपानी, स्वास्थ्य तथा शिक्षाको सुविधा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
उनले गौतमबुद्ध विमानस्थललाई स्तरोन्नतिका क्रममा अधिग्रहणमा परेका घरजग्गाको समान मुआब्जा बितरण र विस्थापितको पुनर्वासको कार्यक्रम पनि निर्वाचन जिते लगत्तै आरम्भ गरिने जानकारी दिए ।
घरदैलोमा उपमेयर पदकी उम्मेदवार माधवी शर्मा वाग्ले, नगर सभापति दीलिप धिताल, सचिव सजिव शर्मा रेग्मी, नेपाली काँग्रेस रुपन्देहीका कोषाध्यक्ष दीपक क्षेत्री न्यौपाने, जिल्ला सदस्य एवं नगर बिकास समितिका अध्यक्ष सुरेन्द्रजगं थापा, ओमकुमार श्रेष्ठ, बिष्णु थापा, रामकिसन बिक, महाधिबेशन प्रतिनीधि गोपालमान राजभण्डारी, सिद्धार्थ उद्योग बाणीज्य सघंका पुर्व अध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, नेपाली बिद्यार्थी सघंका केन्द्रीय सदस्य लेखनाथ भट्ट, बडा नं १० का अध्यक्षका उम्मेदवार बिजयनाथ धवल, सदस्यहरु जनककुमारी कुँवर, मलहरी हरिजन, रामकेस कोइरी, सुरज प्रसाद बरही लगायतको सहभागिता रहेको थियो ।