ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गगन थापाले निर्वाचनका बेला उत्तेजना फैलाएर गरेको झुटको खेतीले मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताएका छन् ।
विर्तामोड नगरपालिका–९ स्थित सैनिकबजारमा आयोजित कार्यक्रममा उनले झुट बोलेर भोट नमाग्न उम्मेद्वारलाई सुझाव दिदै जनताको भविष्यसंग जोडिएको स्थानीय निकायको निर्वाचनमा कामको आधारमा जनताको मन जित्न आग्रह गरे ।
पार्टीको गतिविधि र उम्मेद्वार दुईवटा आधारमा मात्र जनताले मत हाल्ने बताउँदै थापाले त्यही आधारमा नेपाली कांग्रेस जनतासंग भोट माग्न आएको बताए ।
कार्यक्रममा बोल्दै थापाले केही राजनीतिक दलका नेताहरुमा मधेशमा गएर मधेशी जनता उचाल्ने र पहाडमा गएर तिनै मधेशी नेता तथा जनता विरुद्ध विष वमन गर्ने प्रबृत्ति देखिएको बताउँदै यसले देशलाई भलो नगर्ने तर्क राखे ।
देशकै राजनीतिमा मुख्य भूमिका निर्वाह गर्ने झापालाई सिङ्गो मुलुकले नै हेरिरहेको बताउँदै थापाले अधिकार सम्पन्न स्थानीय तहमा असल, सबल र सक्षम प्रतिनिधि छानेर सन्देश दिन आग्रह पनि गरे
।