arrow

समृद्ध नेपालगञ्जको अठोट : काँग्रेसले कहिल्यै नडुब्ने नेपालगञ्ज बनाउने

‘काँग्रेस जीते विकास आउँने, काँग्रेस हारे विकास र समृद्धि हार्ने’

logo
प्रकाशित २०७४ असार ७ बुधबार
kanodiya.jpg

बाँके। नेपाली काँग्रेस निर्वाचन प्रचार प्रसार समिति नेपालगञ्जले ‘समृद्ध नेपालगञ्ज’को अठोटसहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । नेपाली काँग्रेसका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवार डा. सुरेश कुमार कनोडिया र उपमेयरका उम्मेदवार उमा थापा मगरको अठोटका रुपमा सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा ‘५ वर्षमा ५ प्रतिवद्धता’ समेटिएको छ ।

नेपालगञ्जलाई समुन्नत सहरका रुपमा विकास गर्ने लक्ष्यसहितको प्रतिवद्धता पत्रमा भौतिक विकास, आर्थिक समृद्धि, जीवनस्तर प्रवर्द्धन, सांस्कृतिक बहुआयामिकता र सामाजिक न्याय तथा सुशासनका क्षेत्रमा विभिन्न प्रतिवद्धता जनाइएको छ ।

डुबानको समस्या झेल्दै आएको नेपालगञ्जलाई ‘कहिल्यै नडुब्ने नेपालगञ्ज बनाउने’ अठोट प्रतिबद्धता पत्रमा छ । नेपालगञ्जलाई प्लाष्टिक मुक्त नगरको पहिचान दिँदै व्यापक बृक्षारोपण मार्फत् ‘ग्रिन सिटी’ को रुपमा विकास गर्ने, चक्रपथ निर्माण गर्ने, सुख्खा बन्दरगाहको सञ्चालन प्रक्रियालाई तिब्रता दिने, सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहन गर्दै नगरमा बृहत् सभागृह, सहकारी बैंक, कोल्ड स्टोर, खेल मैदान, क्रियापुत्री घर, शवदाह गृह र कब्रिस्तान आदी निर्माण गरी सञ्चलान गर्ने प्रतिवद्धता जनाइएको छ ।

आर्थिक समृद्धिको बाटोमा नेपालगञ्जलाई डोर्‍याउन दिगो विकास सहितको औद्योगिक समृद्धिको खाका कोर्ने, सहुलियत दरमा लिज–पर्चेजको व्यवस्था मिलाउने, नेपालगञ्जलाई पर्यटकीय हबका रुपमा विकास गर्ने, युवा स्वरोजगारीलाई बढावा दिन सहुलियत ऋण, व्यवसायिक तालिम, सिपमूलक शिक्षाको व्यवस्था गरी बैदेशिक रोजगारमा जान पर्ने बाध्यताको अन्त्य गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ । त्यस्तै जीवनस्तर प्रवर्द्धनका क्षेत्रमा स्वच्छ र प्रशोधित खानेपानीको व्यवस्था गर्ने काँग्रेसको अठोट छ।

भेरी अञ्चल अस्पताललाई मल्टी स्पेसियालिटी रिफरल अस्पतालको रुपमा विकास गरी प्रदेशका साथै देशकै नमुना अस्पताल बनाउने, जलेका विरामीहरुका निम्ति पुनःस्थापना केन्द्र, अपाङ्गगता भएकाहरुका लागि होस्टेलको व्यवस्था, अन्तिम चरणका क्यान्सर रोगीहरुका लागि ‘हस्पिस’को व्यवस्था गरिने प्रतिबद्धता जनाइएको छ । त्यसैगरी मदरसाहरुलाई राज्यको मूल प्रबाहको शिक्षा प्रणालीसंग समायोजन गर्ने, मुख्य तथा संवेदनशील चोकहरुमा सिसिटिभी क्यामेरा जोड्ने, खुला आकाशमुनि बस्न बाध्य जीवनको अन्त्य गर्ने मेयर उपमेयरका प्रतिबद्धता पत्रमा उल्लेख छ । सांस्कृतिक बहुआयामिकता अन्तर्गत् सामाजिक सद्भावलाई प्रगाढ बनाउने, मठमन्दिर, मस्जिद, चर्च, धर्मशाला, कर्वला क्षेत्रको संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन गर्ने, सार्वजनिक जग्गाको पहिचान गरी त्यसको अधिकतम् प्रतिफल आउने गरी व्यवस्थापन गर्ने, विभिन्न धर्मका धर्माबलम्वी र तीर्थ यात्रीका लागि धर्मशाला निर्माण गर्ने अठोट नेपाली कांग्रेसका मेयर उपमेयरका उम्मेदवाहरुको छ ।

सामाजिक न्याय तथा सुशासन अन्तर्गत् मेयरको तलबभत्ता सामाजिक कार्यमा खर्चिने, भ्रष्टाचारमा शुन्य सहनशिलताको नीति अख्तियार अंगिकार गर्ने, सूचनाको हकलाई प्रभावकारी बनाउने, प्रत्येक वडामा सूचना केन्द्रको स्थापना गरिने, निःशुल्क कानुनी सेवा प्रदान गर्ने, सामाजिक सुरक्षा भत्ता घर घरमै उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ ।

काँग्रेस जीते विकास आउँने, काँग्रेस हारे विकास र समृद्धि हार्ने
कांग्रेस नेताहरुले नेपाली कांग्रेसले पराजय व्ययहोरेमा नेपालगञ्जको विकास र समृद्धि रोकिने भन्दै उम्मेदवारलाई हार्ने छुट नभएको बताएका छन् । कांग्रेसीहरु एक ढिक्का भएर हरेक तहमा आफ्ना उम्मेदवारहरुलाई जिताउने महाअभियानमा जुट्नुको विकल्प नभएको नेताहरुले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार डा. सुरेश कुमार कनोडिया र उपमेयर उमा थापा मगरको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्ने नेताहरुले नेपाली कांग्रेसको समृद्धिको अभियानलाई गति दिन नेपाली कांग्रेसले जित्नुको विकल्प नभएको बताए ।

काँग्रेस नेतृ एवं सांसद् डा. आरजु राणा देउवाले कांग्रेसले हारेमा समृद्धिको बाटो नै अबरुद्ध हुने भन्दै सबै एक ढिक्का भएर कांग्रेसलाई जिताउन आग्रह गरिन । उनले भनिन, ‘३ सय ६४ दिन कांग्रेस अनि ६५औं दिनमा अरु कुनै बन्ने प्रबृत्ति त्यागौं, कांग्रेसका उम्मेदवारलाई जिताउन एक बनौं ।’ काँग्रेस ठूलो पार्टी भएकाले आकांक्षी धेरै हुनु स्वभाविक भएको भन्दै नेतृ राणाले नेपालगन्जको विकासमा डा।सुरेश कनोडिया नेतृत्वको टिमलाई जिताउनुको विकल्प नभएको वताइन। ‘एउटा सम्पन्नशाली व्यक्ति सबै सुखसयल छाडेर समाज सेवाका लागि समर्पित भएको छ यो रहरले होइन उनले भनिन–‘नगरवासीको सेवाको लागि हो भनेर बुझ्दिन म कार्यकर्ताहरुलाई आग्रह गर्न चाहान्छु ।’

नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले पार्टीलाई जिताउन कार्यकर्तालाई आह्वान गर्नुभयो । ‘कांग्रेसले जे बोल्छ त्यही गर्छ, जे गर्दैन त्यो बोल्दैन’ सभापति कोइरालाले भनिन, ‘नेपालगञ्जलाई समृद्ध शहर बनाउने भोक भएका दुई सक्षम व्यक्ति डा। कनोडिया र उमालाई जिताऔं, नेपालगञ्जले मुहार नै फेर्नेछ ।’

मेयरका उम्मेदवार  डा. कनोडियाले समृद्ध नेपालगञ्जको खाका आफूसंग भएकाले जिताउन आग्रह गरे । ‘आफूहरुले जे गर्न सक्छौं, जनताको मनोभावना जे हो, त्यही अनुसार प्रतिबद्धता व्यक्त गरेका छौं, गर्न नसकिने केही छैन, हामीलाई जिताउनुहोस्, नेपालगञ्जको मुहार फेर्ने जिम्मा हाम्रा हो ।’ डा. कनोडियाको भनाई थियो । दृढ इच्छाशक्तिका साथ काम गर्ने भोक आफूमा भएकाले काम गर्ने अवसर दिन उनले आग्रह गरे।

उपमेयरकी उम्मेदवार थापाले नमुना नेपालगञ्ज बनाउने भिजनका साथ आफूहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेकाले गर्न नसकिने केही पनि नभएको बताइन । ‘तपाईंहरु हामीलाई जिताउनुस्, नेपालगञ्ज बनाउने जिम्मा हाम्रो’ थापाले भनिन । आफू पत्रकारिता क्षेत्रबाट आएकाले पत्रकारहरुलाई प्रोत्साहन गर्न आफूले जितेमा आफ्नो तलब भत्ताबाट ‘पत्रकार अक्षयकोष’ स्थापना गर्ने घोषणा पनि उनले गरिन ।

नेपालगञ्ज उपमहानगरपालिकाको स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिका संयोजक सुरेन्द्र हमालले प्रतिबद्धता पत्र पढेर सुनाएका थिए । नगर सभापति प्रशान्त विष्टको सभापत्विमा सम्पन्न समारोहमा पार्टी सचिव कपिलदेव शर्माले स्वागत गर्नु भएको थियो ।  कार्यक्रममा सांसदहरु बादशाह कुर्मी, अब्दुल हमिद सिद्दिकी भोला, आशा विक, मैकुलाल बाल्मीकि, सर्वतारा खातुन, पूर्व सभाषद मोहम्मदी सिद्दिकी, पूर्व सांसद कृष्णसिंह परिवार, नेपाल महिला संघका केन्द्रीय सदस्य मञ्जु खाँड, पार्टीका पूर्व जिल्ला सभापतिहरु, क्षेत्रीय सभापतिहरु, महासमिति सदस्यलगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ