arrow

भोट कसलाई ? जसले खानेपानी र विद्युत दिन्छ उसैलाई 

काँग्रेस उम्मेदवार भन्छन् –‘माग म पूरा गर्छु’

logo
प्रकाशित २०७४ असार ७ बुधबार
bajura-district.png

बाजुरा । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा बूढीनन्दा नगरपालिकाका मतदाताले जनताको समस्यालाई अन्त्य गर्नेलाई मत दिने बताएका छन् । 

बूढीनन्दा नगरपालिकामा रहेको साबिकको कोल्टी गाविसमा खानेपानी समस्या र विद्युत् र सञ्चारको समस्या रहेको छ । 

यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा खानेपानी विद्युत् र सञ्चार दिनेलाई मात्र भोट दिने बूढीनन्दा नगरपालिकाका छक्क मल्लले बताए । 

उनले कोल्टी बजार जिल्लाको दोस्रो व्यापारिक केन्द्र भएका कारण बजारका स्थानीयवासीले एक घन्टा टाढाको खानेपानी पिठ्यूँमा बोकेर खानुपर्ने बाध्यता रहेको बताए । 

बूढीनन्दा नगरपालिकाका रहेका १० वटै वडामा खानेपानी र विद्युत्को समस्या भएकाले जनताका माग पूरा गर्नेलाई मात्र मतदान गर्ने बूढीनन्दा–७ की निरा बोहराले बताइन् । 

जिल्ला र जिल्ला बाहिरको खबर आदान प्रदान गर्नका लागि टेलिफोन सुविधा नभएका कारण बिहानको घाम कुर्नुपर्ने बाध्यताले स्थानीयवासी मारमा परेको उनको भनाइ रहेको छ । 

बूढीनन्दा नगरपालिका अझै सडकको पहुँचभन्दा टाढा रहेको छ । 

विकट नगरपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, विद्युत् र खानेपानी आधारभूत आवश्यकता भएकाले यी जनताका मागलाई सम्बोधन गर्ने उम्मेदवारलाई मात्र जनताले मत दिने बोहराले बताइन् । 

बूढीनन्दा नगरपालिकाका नगरवासीको मुख्य समस्या भनेको नै विद्युत् र खानेपानी रहेको छ । 

खानेपानी नहुँदा कतिपय वडाका स्थानीयवासी खोलाको पानी खान बाध्य भएका छन् । 

खानेपानी र विद्युत्का कारण स्थानीयवासीले हैरानी खेप्नु परेको छ । 

नगरपालिकामा नै खानेपानी विद्युत् नहुँदा स्थानीयवासीले मत माग्न आउनेलाई यी दुवै माग पूरा गरेमात्र मत दिने प्रतिक्रिया दिएको स्थानीयवासीले बताएका छन् । 

नगरपालिका प्रमुख र उपप्रमुखहरु मत माग्न प्रत्येकको घरदैलोमा आएपनि सबै हामी मतदाताको माग भनेको नै खानेपानी र विद्युत् भएको गोकर्ण देवकोटाको भनाइ रहेको छ । 

देवकोटाले मार्तडी–कोल्टी सडक निर्माण भएको लामो समय बितिसक्दा पनि अझै नगरवासीले सहजरुपमा यात्रा गर्न नपाउने भएकाले सडकलाई प्राथमिकता दिने उम्मेदवारलाई मात्र मत दिने बताए । 

नगरको विकास गर्न खानेपानी, स्वास्थ्य, शिक्षा, सडक विद्युत्, सञ्चार लगायतका विकास निर्माणका कार्य आफ्नो पहिलो काम भएको नेपाली काँग्रेस बूढीनन्दा नगरपालिकाका प्रमुख पदका प्रत्याशी पदमकुमार गिरीले बताए । 

उनले जनताका आधारभूत आवशयकतालाई पूरा गर्ने बताए । 

एमालेका नगर प्रमुखका प्रत्याशी जनककुमार बोहराले आफ्नो समृद्ध बूढीनन्दा नगरपालिका बनाउने योजना रहेकाले ढुक्क भएर आफूलाई मतदान गर्न मतदातालाई आग्रह गरे । 

नेकपा माओवादी केन्द्रका भरत विकले दलित, पिछडिएका र विपन्नका लागि लाग्ने पार्टी माओवादी केन्द्र भएकाले हँसिया हतौडामा मतदान गर्न नगरवासीलाई आग्रह गरे । 

मत दिएपनि माग अनुसारको विकास नहुने हो कि भन्नेमा मतदाता चिन्तामा रहेका छन् । 

पहिले मत माग्ने र पछि बेवास्ता गर्ने प्रवृत्तिले गर्दा सर्त पूरा गर्ने कबुल गरेर मात्र मत दिने बूढीनन्दा नगरपालिकाका मतदाताको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ