उमेर नपुग्दा उम्मेदवार बन्नबाट वञ्चित भइन् दलित महिला
प्रकाशित २०७४ असार ७ बुधबार
334
Shares
बनियानी । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी एक दलित महिला उम्मेदवार बन्नबाट वञ्चित भएकी छिन् ।
बाह्रदशी गाउँपालिकाबाट दलित महिला सदस्यको उम्मेदवारी दर्ता गराएकी रीना दर्जी उम्मेदवार बन्नबाट वञ्चित भएकी हुन् ।
नौ महिना कम उमेर भएकाले दर्जीको उम्मेदवारी रद्द गरिएको बाह्रदशीका निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिए ।
उम्मेदवार बन्नका लागि २१ वर्ष पूरा हुनुपर्ने प्रावधान छ ।
त्यस्तै, जिल्लामा आठ नगरपालिका र सात गाउँपालिकाबाट तीन हजार ३६६ जनाले मनोनयन दर्ता गराएकामध्ये मङ्गलबार २३ जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।
भद्रपुर नगरपालिकामा चारजनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए ।
यस्तै, मेचीनगर, कनकाई र अर्जुनधारा नगरपालिकाबाट एक–एक, गौरादहमा दुई, शिवसताक्षीमा छ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् ।
त्यस्तै, बाह्रदशी, झापा, कमल गाउँपालिकाबाट एक÷एक र बुद्धशान्तिमा पाँचजनाले उम्मेद्वारी फिर्ता गरेको सम्बन्धित निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
बिर्तामोड तथा दमक नगरपालिका तथा हल्दिबारी र कचनकवल गाउँपालिकाबाट कसैको पनि उम्मेदवारी फिर्ता भएको छैन ।
निर्वाचन तालिकाअनुसार मङ्गलबार बिहान ८ देखि ११ बजे उम्मेदवारी फिर्ताका लागि समय निर्धारण गरिएको थियो । त्यस्तै, मङ्गलबार नै अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको छ । रासस