'बौद्ध धर्म'का मुस्लिम अभियन्ता लुम्बिनीको मेयरका उम्मेदवार
राजपाका निर्वार्चित सांसद नै खानको प्रचारमा
प्रकाशित २०७४ असार ६ मंगलबार
173
Shares
भैरहवा । संघीय समाजवादी फोरम नेपालको तर्फबाट मेयरका उम्मेदवार फखरुद्दीन खानले गौतम वुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको विकासका लागि अभियान संचालन गरिरहेका छन् । मेयरका युवा उम्मेदवार खानले लुम्बिनीको पहिचान, विकास र संरक्षणका लागि वृहत्तर योजना सार्वजनिक गरेका छन् ।
‘विगत लामो समयदेखि वौद्ध धर्मको मुख्य स्थल लुम्बिनीको विकासका लागि म क्रियाशील छु । बौद्ध धर्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु मेरो पहिलो प्राथमिकता हो’– खानले भने । लुम्बिनी क्षेत्रको विकासका लागि बाहिरबाट धेरै संघर्ष गर्दा पनि सोचे जतिको परिणाम आउन नसकेको गुनासो गर्दै उनले भने, ‘बाहिरबाट हुँदो रहेनछ, त्यसैले राज्यको सिस्टमभित्र छिरेर लुम्बिनी क्षेत्रको कायापलट गर्न चाहन्छु ।’
मुस्लिम समुदायमा जन्मेर पनि खान बौद्ध धर्मको प्रचार र विकासमा अहोरात्र लागेका छन् । स्थानीय स्तरमा चर्चित युवा नेताको रुपमा परिचित खानले मेयर पदमा विजयी भए लुम्बिनी क्षेत्रको भौतिक पूर्वाधार विकास, बौद्ध धर्मलाई विश्व माझ परिचित गराउने, स्वास्थ्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न अस्पताल खोल्ने योजना रहेको बताएका छन् ।
रुपन्देहीको क्षेत्र नम्बर ७ मा पर्ने लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयर पदका लागि फोरम नेपालले सामाजिक अभियन्ता खानलाई अघि सारेको छ । नगरपालिकाको नाम मैं ‘संस्कृति’ शब्द जोडिएको भएर अरुभन्दा पृथक रहेको उनी बताउँछन् ।
‘ठाउँको नामले नै एउटा विशेष पहिचान बोकेको हुनाले त्यसलाई वास्तविक रुपमा स्थापित गर्नु, छुट्टै पहिचान दिलाउनु र विकास मार्फत् यसलाई थप व्यवस्थपित गर्नु मेरो पहिलो प्राथमिकता हो’–खानले भने ।
खान लुम्बिनि क्षेत्रमा बलियो र प्रभावशाली उम्मेदवारका रुपमा देखिएका छन् । आठ वटा गाविसलाई समेटेर बनेको लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयर पदमा खानलाई समर्थन गर्नेको संख्या ठूलो छ ।
उनी तिनै खान हुन्, जो कमलेश्वर पुरीसँग २०७० सालको संविधानसभा दोस्रो निर्वाचनमा जम्मा अठार सय मतले पराजित भएका थिए । तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीका नेता कमलेश्वर पुरीले उनलाई थोरै मतअन्तरले हराएका हुन् ।
पुरीले महिना दिनअघि साधारण सदस्य रहने गरी पार्टीको सबै भूमिकाबाट राजीनामा दिइसकेकाले त्यसको फाइदा खानलाई हुने अड्कल गरिएको छ । ६ दल मिलेर बनेको राजपालाई छाडेर निर्वाचित सांसद पुरी अहिले फोरम नेपालका उम्मेदवार खानलाई समर्थन गरेर प्रचार–प्रसारमा व्यस्त छन् ।