तलबबिना क्याम्पस पढाइरहेका राजकुमार बेलबारी नगरपालिका प्रमुखका काँग्रेस उम्मेदवार
आठ वर्षदेखि तलबबिना
प्रकाशित २०७४ असार ६ मंगलबार
345
Shares
पथरी । कसैले तपाइँलाई बिना तलब काम गर भन्यो भने तपाइँ मान्नुहुन्छ ? शायद तपाइँ मान्नुहुन्न । तर यो मुलुकमा यस्ता पनि मानिस छन् । जो तलबै नलिइकन काम गर्छन् ।
तलबै नलिई विद्यार्थी पढाउने शिक्षासेवीको रुपमा शिक्षक राजकुमार लिम्बूलाई धेरैले चिन्ने गर्छन् र उनी बिना तलबै विद्यार्थी पढाउने गर्छन् ।
बेलबारी बहुमुखी क्याम्पसमा उनी विसं २०६७ देखि बिना तलब निरन्तररुपमा बिबिएसमा व्यावसायिक अर्थशास्त्र विषय अध्यापन गराइरहेका छन् ।
हरेक मानिस आर्थिक उपार्जनको बाटो खोजेर पैसा कमाउने होडमा दौडिरहेका बेला राजकुमार लिम्बू भने “एक्लो बृहस्पति झुठो” बने र कलेजमा प्राध्यापन गरिरहेका छन् । कलेजमा प्राध्यापन गर्नु सम्मानित पेसा हो ।
हजारौँ प्राध्यापकले कलेजमा पढाइरहेका बेला उनले पढाउनु नौलो कुरा होइन तर पनि बिना तलब विगत आठ वर्षदेखि कलेज पढाउनु पक्कै नौलो कुरा हो ।
उनको पढाउने कला र दक्षताप्रति विद्यार्थी समेत नतमस्तक भएका छन् ।
क्याम्पसमा निःशुल्क पढाउनु चर्चित बन्नका लागि गरिएको नाटक मञ्चन त हैन नि रु भन्ने प्रश्नमा लिम्बूले आफ्नो भविष्यको लक्ष्यसमेत समाजसेवा भएका कारण आफू कहिल्यै त्यसो नगर्ने बताए ।
उनको यस प्रकारको समाजसेवा हाम्रो समाजमा लोप भइसकेको छ । उनको समाजसेवालाई सलाम गर्नेको सङ्ख्या पनि कम छैन ।
यस प्रकारको समाजसेवाप्रति हामी पनि लाग्न सके समाज र राष्ट्रको समेत हित हुनसक्ने कुराप्रति कुनै दुईमत नहोला ।
दुईवटा विषयमा स्नातकोत्तर गरेका लिम्बूलाई यस क्षेत्रमा राजनीतिक र सामाजिक व्यक्तिका रुपमा नचिन्ने सायदै होलान् ।
पिता चन्द्रप्रसाद लिम्बू र माता कौशिल्यादेवी लिम्बूको पहिलो सन्तान राजकुमार लिम्बूको जन्म विसं २०२२ कात्तिक ६ गते धनकुटाको मौनाबुधुक गाविसमा तीन पुस्तके भन्ने ठाउँमा भएको थियो ।
उनले छ वर्षको उमेरदेखि शैक्षिक यात्रा सुरुवात गरेका हुन् ।
कक्षा ७ सम्म श्री बुधुक निमावि र त्यसपछि एसएलसीसम्म भानु मावि डाँडाबजारमा पढे ।
रोजगारीको सिलसिलामा करिब १० वर्षको जापान बसाईपछि नेपाल फर्किएर उनले सुकुना बहुमुखी क्याम्पसबाट दुईवटा विषयमा स्नाकोत्तर गरे ।
बेलबारीको बसाइ सुरु भएपछि यो क्षेत्रमा क्रियाशील रुपमा काँग्रेसको राजनीतिमा होमिए ।
२०५७ सालमा नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्य बने । राजनीतिमा सक्रिय उनी २०५९ सालमा नेवि सङ्घको सहसचिव हुँदै २०६२ सालमा पार्टीको क्रियाशील सदस्य बने ।
२०६३ सालमा बेलबारी गाउँ कमिटिको सचिव र २०६७ सालदेखि गाउँ पार्टी सभापतिको रुपमा कार्य गरे ।
मोरङको ग्रामीण क्षेत्रमा सफल प्राध्यापक र नेताको रुपमा समेत परिचित छन् ।
स्थानीय निकायको निर्वाचनको सरगर्मी बढेको छ । पूर्वोत्तर मोरङको बेलबारी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार छन्, राजकुमार ।
उनले बेलबारीमा रहेको एकमात्र बेलबारी बहुमुखी क्याम्पसको निर्माणमा ठूलो रकम सहयोग गरेका उनी सो क्याम्पस सञ्चालक समितिको सदस्य भएर चार वर्ष अघिदेखि निरन्तर शिक्षा क्षेत्रमा सेवा गरिरहेका छन् । रासस