विराटनगर महानगरको मेयरमा फोरमका उम्मेदवारलार्इ माओवादीको समर्थन
अन्य ४ स्थानीय तहमा पनि तालमेल
प्रकाशित २०७४ असार ४ आइतबार
170
Shares
विराटनगर। नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी फोरम नेपालले मोरङको विराटनगर महानगरपालिकासहित चारवटा स्थानीय तहको निर्वाचनमा तालमेल गरेको छ । ती दुई पार्टीले आइतबार यहाँ संयुक्त पत्रकार सम्मेलन गरी प्रमुख र उपप्रमुख पदमा तालमेल गरिएको र अन्य पदमा आ–आफ्नै तरिकाले निर्वाचनमा सहभागी हुने जानकारी गराएको छ ।
सोअनुसार विराटनगर महानगरको प्रमुख पदमा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार उमेश यादवलाई र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार नमिता न्यौपानेलाई सघाउने सहमति भएको माओवादी केन्द्रका जिल्ला संयोजक, गोपी अछामीले जानकारी गराए ।
सोहीअनुरुप, रतुवामाई नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका प्रकाश पौडेल र उपप्रमुखमा नारायण ताजपुरियालाई सघाउने सहमति भएको सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले बताए ।
त्यस्तै, धनपाल गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका विक्रम पासवान र उपप्रमुखमा सङ्घीय समाजवादी फोरमका इन्द्रमणिदेवी मण्डललाई र कटहरि गाउँपालिकाको प्रमुखमा सङ्घीय समाजवादी फोरमका श्याम मण्डल र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने निर्णय भएको छ । उपप्रमुखका उम्मेदवारको छनोट केहीबेरमा हुने माओवादी केन्द्रका संयोजक अछामीले जानकारी गराए।
सो अवसरमा लिम्बुवान प्रदेशका सहइन्चार्य भुराज राईले यी पार्टीबीच चारवटा स्थानीय तहमा भएको सहमतिका साथै अन्य स्थानीय तहमा पनि सहमति हुनसक्ने सम्भावना व्यक्त गरे । रासस