लुम्बिनीमा दुई सय शैयाको अस्पताल बनाउने काँग्रेसका मेयर उम्मेदवार खाँको प्रतिवद्धता
प्रकाशित २०७४ असार ४ आइतबार
591
Shares
लुम्बिनी । आसन्न स्थानीय तहको निर्वाचनमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार मोहम्मद सईद खाँले पौने एक लाख जनसंख्या रहेको नगरपालिका क्षेत्रमा दुई सय शैयाको अस्पताल बनाउने बताएका छन् ।
लुम्बिनी सांस्कृति नगरपालिका भित्र हालसम्म एउटा पनि अस्पताल नरहेकाले त्यस क्षेत्रको जनतालाई स्वास्थ्योपचारको लागि सरकारी अस्पताल स्थापना गर्ने पहिलो प्राथमिकता रहेको उनले बताए ।
त्यस्तै उच्च शिक्षा हासिल गर्नकालागि स्नातकोत्तर तहको क्याम्पससमेत नभएकाले संस्थापक अध्यक्ष रहेको खुदाबगर आदर्श कलेजलाई स्तरबृद्धि गरी गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने खाँले बताए ।
उनले उक्त कलेजमा प्राबिधिक शिक्षा समेत सञ्चालन गरि प्राविधिक रुपमा दक्ष जनशक्ति उत्पादन गर्ने उल्लेख गरे ।
लुम्बिनीमा औद्योगिक विकासको सम्भावना प्रयाप्त रहेको तथा बुद्धजन्मस्थल लुम्बिनीमा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याउने कार्यक्रम ल्याईने बताए ।
त्यस्तैगरी त्यहाँ उत्पादन भएको दक्ष जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी सिजर्नना गरी युवा पलायन हुने क्रमलाई रोक्ने र सोही क्षेत्रमा उत्पादनशिल क्षेत्रमा लगाउने योजना आफूसंग रहेको नेता खाँले बताए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा नं. ४, ५ र ६ को मजगाउँ र वडा नं. ७ र ८ को कर्महवामा आयोजित संयुक्त कोण सभामा बोल्दै मेयर पदका उम्मेदवार खाँले कञ्चन बाँधको पानीलाई लुम्बिनीसम्म ल्याई सिचाईको प्रवन्ध मिलाउने, नगरका सबै वडामा थ्री फेज सहितको विद्युत व्यबस्थापन गर्ने, नगरका सबै सडकलाई दुई वर्ष भित्र कालोपत्रे गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै उपमेयरकी उम्मेदवार रमावती यादवले सरकारले दिदैं आएको बृद्ध भत्तामा १० प्रतिशत थप गरी वितरणको व्यबस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा सांसद भरतकुमार शाहले सिंहदरवारको अधिकारलाई गाउँगाउँमा ल्याउनकालागि हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी भई नेपाली काँग्रेसलाई मतदात गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता अमेरिका कहार, दुर्गाप्रसाद उपाध्याय लगायतले मुलुकमा हरेक परिवर्तनमा नेपाली काँग्रेसले नेतृत्व गरेको र समृद्धिको पनि नेपाली काँग्रेसले नै नेतृत्व गर्ने बताएका थिए ।