अन्तरघात गर्ने पूर्व जिल्ला सचिव सहित २ जनालाई काँग्रेसको कारवाही
सुनिल शिवाकाेटी,
प्रकाशित २०७४ असार ३ शनिबार
220
Shares
हेटौँडा । बैशाख ३१ मा सम्पन्न स्थानीय चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन अन्तरघात गरेको भन्दै नेपाली काँग्रेस गढी गाउँपालिका वडा नम्बर ५ ले दूईजनालाई कारवाही गरेको छ । नेपाली काँग्रेस गढी गाउँपालिका वडा नम्बर ५ को क्रियाशील भेलाले नेपाली काँग्रेस मकवानपुरका पूर्व पार्टी सचिव विष्णु दाहाल र नेपाल शिक्षक संघका पूर्व उपाध्यक्ष गीता सञ्जललाई साधरण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।
दुवैजनालाई स्थानीय निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन पार्टीको निर्देशन विपरित गतिविधि गरेको आरोप लगाइएको छ । भेलाले दुवैजनालाई ६ वर्षको लागि साधारण सदस्य समेत नरहने गरी निलम्बन गर्ने निर्णय गरेको ने बि संघका पूर्व जिल्ला सदस्य अचुत अधिकारीले जानकारी दिए । साथै अधिकारीले कारबाहीको विषयमा पार्टीले क्षेत्रीय समिति र जिल्ला समितिलाई बोधार्थ समेत पठाएको र आवश्यक परे केन्द्रीय कार्यालयमा समेत पठाउने जानकारी दिए ।
नेता दाहालले काँग्रेसका कृयाशील सदस्य तथा साधारण कार्यकर्ताहरुको माझमा नेकपा एमालेका उम्मेदवारको लागि भोट मागेको भन्दै केही कृयाशील सदस्यले आक्रोश पोखेका थिए । दाहाल र सञ्जेलको साविकको आमभञ्ज्याङ–५ बाट नेपाली काँग्रेसका कृयाशील सदस्यता रहेको थियो ।