परासी । नवलपरासीको परासीमा राजपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले गोली चलाउँदा ४ जना राजपा कार्यकर्ता घाइते भएका छन् ।
दिउँसो लाठी जुलुस निकालेका राजपा कार्यकर्ता र प्रहरीबीच साँझ झडप भएको हो । अपरान्ह राजपाका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएपछि केन्द्रीय नेताको भाषण सुन्न राजपाका कार्यकर्ता परासी पुगेका थिए ।
राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो, वरिष्ठ नेता हृदयेश त्रिपाठी लगायत नेताहरु अपरान्ह परासी पुगेर सम्बोधन गरे । झडपको स्थिति आएपछि नेताहरु भागेर होटलतिर लागेको बताइएको छ ।
प्रहरीले रबरको गोली चलाएको बताएपनि प्रदर्शनकारीले फायर नै गरेको बताएका छन् । घाइते कसैको टाउको र कसैको आँखा र कसैको खुट्टामा चोट लागेको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् । यस्तै, उश्रृंखल गतिविधि गरेको भन्दै प्रहरीले तीन कार्यकर्तालाई पक्राउ समेत गरेको छ ।
परासीको घटनालाई लिएर धनुषाको जनकपुरमा प्रर्दशन भएको छ । जहाँ सरकार र प्रमुख विपक्षी एमालेविरुद्ध नारावाजी भएको छ ।