arrow

४ नं प्रदेशका निर्वाचित प्रतिनिधिले भने - 'हाम्रो प्राथमिकता खानेपानी, विद्युत् र सडक'

logo
प्रकाशित २०७४ असार १ बिहिबार

काठमाडौं । ४ नं प्रदेशका नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको पहिलो प्राथमिकता  स्थानीय तहमा खानेपानी र विद्युत् लाइन विस्तार तथा सडक निर्माण गर्नु रहेको बताएका छन्।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले पोखरामा आयोजना गरेको स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आएका  प्रदेश नं ४ बाट निर्वाचित जनप्रतिनिधिले जनताका आकाङ्क्षा धेरै रहेकाले सीमित स्रोत र साधनलाई अधिकतम परिचालन गरी प्राथमिकताका आधारमा काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकामा आएको सरकारी अनुदान रकमलाई अधिकतम सदुपयोग गरी पारदर्शी ढङ्गले विकास निर्माणका काममा खर्च गर्ने बताए। “दुई दशकपछि निर्वाचित भएर जनप्रतिनिधिहरु आउँदा जनताले धेरै आशा राख्नु स्वाभाविक नै हो”, उनले भने “आफु जिम्मेवारी र जवाफदेही भएर इमान्दारीका साथ काम गर्छु ।” 

स्याङ्जाको चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले आफू निर्वाचित भएको नगरपालिकामा खानेपानी अभाव र पक्की सडकको समस्या झेल्नुपरेकाले सुरुमा त्यसकै लागि काम गर्ने बताए । 

तनहुँको म्याग्दे गाउँपालिकाका प्रमुख माया रानाले जीर्ण गाउँपालिका कार्यालय भवन, कर्मचारीको अभावजस्ता अनेकौँ समस्या भए पनि जनताका आकाङ्क्षा पूरा गर्न उच्च मनोबलका साथ काम गर्ने दृढता व्यक्त गरे । 

कास्कीको माछापुच्छरे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, पर्वतको पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, जलजला गाउँपालिकाका अध्यक्ष यमबहादुर मल्ल र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले गाउँपालिकाको विकासमा अहोरात्र खटिने विश्वास व्यक्त गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ