arrow

असार १४ को निर्वाचनप्रति दृढ हुन आयोगको दलहरुलाई आग्रह

logo
प्रकाशित २०७४ असार १ बिहिबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं। निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको असार १४ गते हुने निर्वाचनका लागि दृढ भएर अघि बढ्न सरकार र राजनीतिक दललाई सुझाव दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुसँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले उक्त सुझाव दिएको हो।

छलफलपछि प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोग यही असार १४ गते हुने निर्वाचनमा केन्द्रित भएर आफ्ना सबै काम अघि बढाइरहेकामा सरकारको तर्फबाट त्यसमा सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त भएको जानकारी दिए। उनले भने– “आयोगले असार १४ गतेको निर्वाचनका लागि दृढ भएर अघि बढौँ भन्ने आग्रह गरेको छ।”

जुनसुकै निर्वाचन गर्दा पनि केही न केही अप्ठेरो हुन्छ भन्दै उनले गृहमन्त्रालयले निर्वाचनका लागि पूर्ण सुरक्षाको प्रत्याभूति दिएकाले निर्वाचनको बारेमा अब कुनै अन्योलमा नबस्न आग्रह गरे।

निर्वाचनको सन्दर्भमा सरकारका तर्फबाट उपलब्ध गराइएको साधन स्रोत र सुरक्षाको प्रत्याभूतिप्रति विश्वस्त भएर निर्वाचनको जिम्मेवारी पूरा गर्ने ऐक्यबद्धताका साथ भोलि हुने मनोनयन र १४ गतेको निर्वाचनका लागि हामी अघि बढिरहेका छौँ – प्रमुख निर्वाचन आयुक्त डा यादवले भने।

आयोगको तर्फबाट सो अवसरमा निर्वाचनका लागि भएको सम्पूर्ण तयारीको बारेमा जानकारी गराएकामा आयोगका कामप्रति सरकार र सत्तासाझेदार दलको तर्फबाट धन्यवाद व्यक्त भएको थियो।

छलफलमा नेपाली काँग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेताहरु विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, मातृका यादव तथा गृहमन्त्री जनार्दन शर्मा सहभागी थिए।

सो अवसरमा आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वर पौडेल र सुधीर शाहका साथै आयोगका सचिव गोपीनाथ मैनाली सहभागी थिए। रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ