काँग्रेसले जित्दा मुलुकले जित्छ : केन्द्रीय सदस्य लेखक
प्रकाशित २०७४ जेठ ३१ बुधबार
621
Shares
ललितपुर। नेपाली काँग्रेस स्थानीय तह निर्वाचन २०७४, प्रचार प्रसार समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य रमेश लेखकले नेपाली काँग्रेसले जित्दा मुलुकले जित्ने बताएका छन् ।
नेपाली काँग्रेस चुनाव प्रचारप्रसार समन्वय समितिले बुधबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा लेखकले सो कुरा बताएका हुन् । ‘२०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा काँग्रेस कमजोर भयो, माओवादी र एमालेले आलोपालो गर्दै चार पटक सरकार फेरे, मुलुकले चार जना कम्युनिष्ट प्रधानमन्त्री पायो तर संविधान पाएन’ उनले भने‘ तर दोस्रो संविधानसभाको चुनावपछि नेपाली काँग्रेस पहिलो पार्टी बन्यो, सरकारको नेतृत्व गर्यो, संविधान पनि दियो ।’
पूर्व मन्त्री समेत रहेका नेता लेखकले नेपाली काँग्रेसले हार्दा मुलुक र मुलुकका एजेण्डाले पनि हार्ने तथा नेपाली काँग्रेसले जित्दा मुलुक र मुलुकका मुलभूत एजेण्डाले पनि जित्ने बताए ।नेपाली काँग्रेससंग नेपाली जनताको विश्वास समेत जोडिएकाले दोस्रो चरणको निर्वाचनमार्फत नेपाली काँग्रेस मुलुकको पहिलो पार्टीको रुपमा स्थापित हुने उनले दावी गरे।
केन्द्रीय सदस्य लेखकले अहिले संविधानको स्वीकार्यतालाई विस्तार गर्ने र संविधानको सफल कार्यान्वयन मुख्य एजेण्डा भएकोले त्यसकालागि सबैलाई मिलाएर अंगाडि बढाउने क्षमता नेपाली काँग्रेससंग मात्र रहेको उल्लेख गरे ।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नु सरकारको दायित्व भएको बताउँदै उनले शान्तिपूर्ण निर्वाचन र संविधानको स्वीकार्यतालाई बढाउनकालागि पनि राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउन आवश्यक भएको बताए । उनले भने–‘सरकारको प्रयास र प्रयत्न राजपालाई निर्वाचनमा ल्याउने छ ।’