११ जिल्लामा तेस्रो चरणमा चुनाव गर्न सकिन्छ : गच्छदार
राजपा आउने ग्यारेन्टी हुनुपर्छ
प्रकाशित २०७४ जेठ ३१ बुधबार
145
Shares
विराटनगर । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले राष्ट्रिय जनता पार्टीले निर्वाचनमा सहभागि हुने प्रतिवद्धता गरे दोस्रो चरणअन्तर्गत असार १४ गते निर्वाचन हुन नसकेको जिल्लामा तेस्रो चरणमा गर्न सकिने बताएका छन् ।
विराटनगरमा संचारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले असार १४ गते निर्वाचन तय गरिएका ४३ जिल्ला मध्ये ११ जिल्लामा तेस्रो चरणमा गराउन सकिने बताएका हुन् । यस्तै, गच्छदारले दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउने प्रयास जारी रहेको समेत बताए ।
निर्वाचन अगाडि संविधान संशोधन हुन नसक्ने विषय सबैलाई अवगत भएकै कुरा हो, उनले भने, “आगामी दिनमा सो प्रस्तावलाई दुई तिहाइबाट पारित गराउनका लागि हरसम्भव प्रयास गरिन्छ ।”
मुलुकलाई द्वन्द्वतिर धकेल्नुभन्दा केही समय लिएर भएपनि समस्या समाधान गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिँदै उहाँले संविधानलाई सर्वस्वीकार्य बनाउनतर्फ सबै दल एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याए ।
लोकतान्त्रिक फोरम नेपालका अध्यक्षसमेत रहेका उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदारले पार्टीका जिल्ला समितिलाई स्थानीयस्तरमा अन्य पार्टीसँग तालमेल गरेर निर्वाचनमा सहभागि हुने विषयमा निर्णय लिने अधिकार प्रदान गरिएको बताउँदै विराटनगर महानगरपालिकाको उम्मेदवारका नामावली विहिबारसम्म सार्वजनिक गरिने बताए ।