हामी त भोट दिन्छौँ नि, तर नेताले हामीहरुलाईं केही दिन सकेनन्
प्रकाशित २०७४ जेठ ३१ बुधबार
568
Shares
काँकडभिट्टा । मेचीनगरकै दुर्गम गाउँ मानिएको मेचीपारिको टापुमा रहेको १४ नं वडाका जनता स्थानीय तहको चुनावबारे अझै बेखबर छन् ।
जिल्लाका सबै गाउँबस्तीमा चुनावी लहर चलिरहँदा सो गाउँको झाडु, ग्लावा र होपना बस्तीमा मोटर बाटो नपुग्ने भएका कारण अहिलेसम्म कुनैपनि राजनीतिक दलका नेताले भोट माग्न नआएका कारण सुनसान भएको त्यहाँका बासिन्दा बताउँछन् ।
ज्यामिरगढीको यी तीन बस्तीलाई पूर्वतिर भारतीय बाँध र पश्चिमतिर मेची नदीले घेरेको छ । बगर र बाँधले घेरिएको मेची पारिको यो चर्चित टापुमा करिब ५० परिवारको बसोवास छ । उपेक्षित बस्ती हुनुको पीडा भोगिरहेका यहाँका बासिन्दाले यसपाली भोट माग्न आउने नेताहरुसंग एउटै प्रश्न सोध्ने भएका छन्–‘कहिले बनाउँछौ झोलुङ्गे पुल ?’
विसं.२०१० बसोबास शुरु भएको यहाँ अहिलेसम्म कयौँ नेता अनेक आश्वासन देखाएर भोटमाग्न आएपनि सिङ्गो नेपालसँग जोड्न यहाँ न सडक, न पुल, न बिजुली, नत सञ्चार सुविधा नै उपलब्ध गराएका छन् ।
स्थानीय नरेन्द्र यादवले भोट माग्न आउने उम्मेदवारसँग मेची खोलामा झोलुङ्गे पुल, खेतमा बाह्रैमास पानी लगाउने पैनी र तीन बस्तीलाई जोड्ने सडक बनाउन सर्त अघि बढाउने भएका छन् । उनका अनुसार मेची नदीमा पुल नहुँदा बर्खामा तीन महिनासम्म नेपाली बजार र गाउँतिर आवतजावत गर्न नसकिने समस्या सुनाउँदै उनले भने “त्यही कारणले स्कुल पढ्न पनि भारततिरै धाउनु परेको छ ।”
होपना बस्तीका ८४ वर्षीय सुपल बास्केले चुनाव आउँदा आश्वासन दिने र जितेपछि फर्केर एकपटक पनि नआउने नेताप्रति गुनासो गरे । उनले यसपाली भोट माग्न आउने नेताले पुल बनाउने प्रतिबद्धता नगरेसम्म भोट नदिने बताए । आक्रोषित बास्केले भने “हामी त भोट दिन्छौँ नि, तर नेताले हामीहरुलाईं केही दिन सकेनन् ।”
मेचीपारिका अधिकांश गाउँका बासिन्दाले अझै पनि साँझ परेपछि मट्टितेलको सहारामा कुपिले उज्यालो छर्ने गरेको छन् ।
मेचीपारिको गाउँबाट मरियम मुर्मुलाई महिला कोटा सदस्यमा नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार बनाएको छ । करिब १०० मतदाता भएको यो स्थानमा उहाँ मुर्मु गाउँको एक्लो उम्मेदवार हुन् । मुर्मुलेले चुनाव जितेपछि सबैभन्दा पहिला मेची नदीमा पुल बनाउने स्थानीय जनतासँग बाचा गरेकी छन्। उनले अहिलेसम्म यो गाउँमा कुनै पनि राजनीतिक दलका नेता भोट माग्न नआएपनि नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी)का झन्डा राखिएको छ । उनले भनिन्“झन्डा कस्ले आएर राख्यो हामीलाई थाहा छैन ।”
निर्वाचन आउन केही दिन मात्र बाँकी रहदा पनि मेचीपारिका अधिकांशलाई मत हाल्ने तरिकासम्म थाहा छैन । निर्वाचन आयोगले बदर मत सङ्ख्या न्यूनीकरणका लागि चलाएको मतदाता शिक्षाबाट समेत यहाँका बासिन्दा वञ्चित छन् । स्थानीय ४५ वर्षीय आरुती यादवले मतदान गर्ने तरिका सिकाउन कोही पनि नआएको बताइन् । “खै भोट हाल्नुपर्ने कुरा सुनेको छु तर कसरी दिने थाहा छैन ।” यादवको भनाई छ।
जिल्ला निर्वाचन आयोगका प्रमुख गोपालप्रसाद आचार्यले जिल्लाभर मतदाता शिक्षालाई प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको छ तर कतै कहीँ छुटेको रहेछ भने अनुगमन गरी त्यस्ता स्थानमा पनि तुरुन्त पुर्याउँछौं ।”