प्रमुख व्यापारिक केन्द्र बिर्तामोडको मेयर र उपमेयरमा १२ जना भिड्दै
प्रकाशित २०७४ जेठ ३१ बुधबार
213
Shares
बिर्तामोड। मेची अञ्चलकै मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोड नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर पदमा स्वतन्त्रसहित ६-६जना चुनावी मैदानमा उत्रिएका छन्।
देशमै अव्यवस्थित शहरको रुपमा परिचय पाएको बिर्तामोड नगरपालिकालाई अब स्मार्ट र नमूना बनाउने उम्मेदवारहरुको प्रतिबद्धता छ। सबै उम्मेदवारले बिर्तामोडको भौतिक विकास र सुशासनमा जोड दिएका छन्। भ्रष्टाचारमुक्त गरी समृद्ध र देशकै नमूना नगरको रुपमा बिर्तामोडलाई विकास गर्न उम्मेदवारहरुले बताएका छन्। चुनावी प्रचारका लागि मैदानमा उत्रिएका उम्मेदवारले विकासका विभिन्न एजेण्डा अघि बढाएका छन्।
संवाद समूहको सचिवालय झापाको संयोजनमा आज बुधवार बिर्तामोडमा भएको सबै उम्मेदवारसँगको छलफलमा उनीहरुले बिर्तामोड नगरको विकासका लागि राखेका अधिकांश एजेण्डा साझा देखिएका छन्। उनीहरुले निर्वाचनलाई द्वन्द्वरहीत बनाउने लगायतका छ बुँदे साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
बिर्तामोड नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसबाट जलकुमार गुरुङ, नेकपा एमालेबाट धु्रव शिवाकोटी, नेकपा माओवादी केन्द्रबाट सीपी कडरिया, राप्रपाबाट भक्ति सिटौला, नेकपा मालेबाट मन्दिरा बराल र नेकपा माओवादी क्रान्तिकारीका देशभक्त गणतान्त्रिक मोर्चाबाट स्वतन्त्र रुपमा बालकृष्ण बुढाथोकीले उम्मेदवारी घोषणा गरेका छन्।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसबाट पार्वता गिरी, नेकपा एमालेबाट पवित्रा महतरा प्रसाईं, नेकपा माओवादी केन्द्रबाट लक्ष्मी न्यौपाने सरु, राप्रपाबाट लीला अनमोल, नेकपा मालेबाट भोलानाथ उप्रेती र स्वतन्त्रबाट सज्जनकुमार बंशल उम्मेदवार बनेका छन्।
कांग्रेसबाट मेयरको उम्मेदवार बनेका गुरुङले सामाजिक सुरक्षा, न्याय र विकास निर्माण गरी मुख्य तीन विषयलाई प्राथमिकतामा राखेका छन्। एमालेबाट मेयरका उम्मेदवार शिवाकोटीले बिर्तामोडलाई विषादिमुक्त र प्रदुषणमुक्त नगर बनाउँदै व्यवस्थित शहरीकरणको एजेण्डा अघि सारेका छन्।
माओवादी केन्द्रबाट मेयरका उम्मेदवार कडरियाले भौतिक पूर्वाधार तथा आर्थिक र सामाजिक विकासलाई प्राथमिकता दिने बताउँदै भ्रष्टाचारमुक्त सवल र समृद्ध बिर्तामोड निर्माणमा जोड दिएका छन्। राप्रपाबाट मेयरका उम्मेदवार सिटौलाले तीन महिनाभित्रै विशेषज्ञसहित व्यवस्थित बिर्तामोडको प्लानिङ गरेर व्यवस्थित, शान्त बिर्तामोड र युवालाई स्थानीय ठाउँमै रोजगारीको व्यवस्था गर्ने एजेण्डा अघि सारेका छन्।
सबै पार्टी र स्वतन्त्र उम्मेदवारहरुलाई पहिलोपटक एकैथलोमा जमघट गराएर हार्दिकता र सौहार्दता साटासाट गर्ने अवसर दिइएको भन्दै उनीहरुले संवाद समूहप्रति धन्यवाद समेत ज्ञापन गरेका थिए। सबै उम्मेदवारले नगरलाई नगरलाई भ्रष्टाचारमुक्त बनाउने, रोजगारीको सिर्जना गरेर युवाशक्ति पलायनलाई रोक्ने विकासका एजेण्डा अघि सारेका छन्।
त्यस्तै सडक कालोपत्रे र स्तरोन्नति, विद्युतीकरण, शिक्षाको गुणस्तर वृद्धि, खानेपानीमा पहुँच, व्यवसायिक कृषिका लागि विभिन्न कार्यक्रम, पर्यटन प्रबद्र्धन, सामाजिक सुरक्षा भत्ता घर–घरमा पुर्याउने, फोहोर व्यवस्थापन, औद्योगिक करिडोर, कृषि करिडोर निर्माण, खेलकुदको विकास जस्ता विकासका एजेण्डा पनि अघि सारेका छन्। महिला सशक्तिकरण, बाल र युवा सशक्तिकरण, महिलाका लागि हेल्पडेक्स, प्राविधिक शिक्षा प्रदान, हरितनगरी, चन्दाआतंक बन्द लगायतका एजेण्डा समेत उम्मेदवारले प्रस्तुत गरेका थिए।
बिर्तामोड नगरपालिकाका उम्मेदवारहरुले व्यक्त गरेको छ बुँदे साझा प्रतिबद्धतामा निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने, कुनै पनि चुनावी एवम् राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने रहेका छन्।
त्यस्तै आफ्ना गतिविधिलाई शान्तिपूर्ण, मर्यादित बनाउँदै निर्वाचनलाई द्वन्द्वरहीत बनाउने, निर्वाचन प्रचार–प्रसारलाई तडक–भडकरहित कम खर्चिलो र मितव्ययी बनाउने, मतदाता शिक्षालाई प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने पनि उनीहरुको प्रतिबद्धता छ। त्यस्तै सबै राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरुले एकअर्काको सह–अस्तित्व स्वीकारी आदर सम्मानपूर्वक व्यवहार गर्दै असल राजनीतिक संस्कारको विकास गर्ने प्रतिबद्धता समेत जनाएका छन्। छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गरेका थिए।