जुँगू हत्या प्रकरणका पीडित न्याय माग्दै काठमाडौँमा
प्रकाशित २०७४ जेठ ३० मंगलबार
332
Shares
काठमाडौँ। स्थानीय तहको पहिलो निर्वाचनका बेलामा दोलखाको जुँगूमा हत्या गरिएका कुलबहादुर तामाङका परिवार न्यायको खोजी गर्दै काठमाडौँ आइपुगेका छन् ।
कुलबहादुरको हत्यामा संलग्न अभियुक्त साधारण तारेकमा रिहा भएपछि पीडित परिवार न्यायको खोजी गर्दै राजधानी काठमाडौँ आइपुगेका हुन् ।
पीडित परिवारले रिपोर्टर्स क्लबमा मंगलबार आयोजना गरेको पत्रकारसम्मेलनमा मृतक तामाङकी पत्नी साङमाया तामाङले जिल्ला अदालतले हत्यामा संलग्नलाई रिहा गरेपछि आफूहरु न्यायको खोजी गर्दै बाध्य भएर काठमाडौँ आउनु परेको बताइन् ।
“न्याय नपाए सामूहिक रुपमा आत्मदाह गर्न बाध्य हुन्छौँ, घर छैन, छोरा अशोक र छोरी सङ्गीता पठाउन पाएको छैन, म के भनेर बाँच्ने ?”, गहभरि आँसु पार्दै न्याय नपाए बाँच्ने कुनै आधार नभएको साङमायाले सुनाइन् ।
मृतक तामाङका बुबा गोरे तामाङले माओवादी नेता देवी खडका, विशाल खड्काकै निर्देशनमा आफनो छोराको हत्या हुन्छ भनेर आफूहरुले कहिल्यै नसोचेको दुखेसो गरे। “गरिब तामाङ परिवारलाई हेपेर जिल्ला अदालत दोखलाले न्याय दिएन, हत्यामा संलग्नहरुले धम्की दिँदै आएपछि गाउँ बस्न सक्ने अवस्था छैन”, तामाङले गुनासो गरे।
पीडित परिवारले हत्यामा संलग्न रहेको आरोपमा माओवादी केन्द्रका नेता देवी खड्का, विशाल खड्कासहित ३९ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । तर जाहेरी दिएपछि पक्राउ परेका नौ जनालाई समेत जिल्ला अदालत दोलखाले साधारण तारेकमा रिहा गरेपछि पीडित पक्ष न्यायको खोजीमा भौँतारिएका हुन् ।
कुलबहादुर तामाङ आफ्ना बुबा गोरे तामाङ गौरीशङ्कर गाउँपालिका–१ मा एमालेबाट वडा सदस्यको उम्मेदवार भएपछि निर्वाचन अभियानमा जुटेका थिए । सोही घटनामा परी गम्भीर घाइते दिलबहादुर बुढाथोकीको उपचार भइरहेको छ । सरकारले हत्या गरिएका कुलबहादुर तामाङलाई सहिद घोषणा गरेको छ भने पीडित परिवारलाई रु १० लाख क्षतिपूर्ति दिने घोषणा पनि गरेको छ । यता, घटनाको छानबिनका लागि संसदीय समितिसमेत गठन गरिएको छ । पीडित परिवारले न्यायका लागि राष्ट्रिय मानव अधिकार आयोगनमा समेत उजुरी दिएका छन । रासस