गृहमन्त्री शर्माले निर्वाचन आयोगका पदाधिकारीलाई के भने ?
प्रकाशित २०७४ जेठ ३० मंगलबार
358
Shares
काठमाडौँ। आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्ने विषयमा केन्द्रित रहेर गृहमन्त्री जनार्दन शर्मा र प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितका आयुक्तबीच मंगलबार निर्वाचन आयोगमा छलफल भएको छ ।
निर्वाचनका लागि गृह मन्त्रालयबाट तयार पारिएको सुरक्षा व्यवस्था तथा निर्वाचनको तयारीबारे आयोगबाट भएका प्रगतिका वारेमा उनिहरुबीच छलफल भएको हो ।
गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि पहिलो पटक निर्वाचन आयोग पुगेका मन्त्री शर्माले अहिले उब्जेका सुरक्षा चासो र अन्य नीतिगत विषयमा छलफल गरेका थिए ।
सो अवसरमा गृहमन्त्री शर्माले राजनीतिक तहमा वर्तमान समस्या समाधान गर्न सरकारबाट पहल भइरहेको जानकारी दिँदै आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि यथेष्ट सुरक्षा प्रबन्ध मिलाउन सरकार कटिबद्ध छ भने।
प्रमुख निर्वाचन आयुक्त डा यादवले आसन्न निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने कार्यदेखि मतदाता शिक्षा, निर्वाचन प्रचारप्रसार, मतदान तथा मतगणना लगायतका सम्पूर्ण निर्वाचन कार्यक्रम सञ्चालन गर्दा भरपर्दो सुरक्षा व्यवस्था मिलाई सम्बद्ध पक्षमा सुरक्षाको प्रत्याभूति हुन आवश्यक रहेको बताए ।
प्रमुख निर्वाचन आयुक्त डा यादवबाट वर्तमान परिस्थितिमा सुरक्षा रणनीति र सुरक्षा योजना प्रभावकारी हुनुपर्ने आवश्यकता औँल्याएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
छलफलमा आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल तथा सुधीरकुमार शाह, गृह सचिव लोकदर्शन रेग्मी र आयोगका सचिव गोपीनाथ मैनाली सहभागी थिए । रासस