तराईमा काँग्रेस, माओवादी केन्द्रमाथि भएको आक्रमणले समेत चित्त दुख्यो
प्रकाशित २०७४ जेठ ३० मंगलबार
313
Shares
काठमाडौं । प्रमुख विपक्षी एमालेले चुनाव सार्ने षड्यन्त्र भइरहेको आरोप लगाएको छ । मंगलबार बसेको एमाले स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार १४ गते तोकिएको मितिमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै भित्रभित्रै निर्वाचनलाई पछि धकेल्ने षड्यन्त्र भइरहेको आरोप लगाएको हो ।
बैठकपछि एमाले सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा निर्वाचनलाई पछि धकेल्ने षड्यन्त्र विरुद्ध सजग रहन आम जनतालाई आह्वान गरिएको छ । विज्ञप्तिमा ‘निर्वाचनलाई पछि धकेल्ने र अन्योल सिर्जना गर्ने कुनै पनि कुराप्रति एमालेको गम्भीर असहमति रहने कुरा स्पष्ट छ, भनिएको छ ।
‘बैठकले राष्ट्रिय जनता पार्टी राजपाको नामबाट देशका विभिन्न भागमा भएको अराजनीतिक गतिविधि, एमाले कांगे्रस, माओवादी केन्द्र, संघीय समाजवादी, फोरम लोकतान्त्रिक लगायतका दलहरुकाविरुद्ध कुटपिट, आगजनी र तोडफोड गर्ने, सार्वजनिक तथा सरकारी सम्पत्तिको तोडफोड गर्ने, सवारी साधनहरुमाथि तोडफोड र आगजनी गर्ने, कर्मचारीहरुमाथि कुटपिट र दुव्र्यवहार गर्नेजस्ता घटनाको निन्दा र भत्र्सना गरेको छ । र, यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दै शान्ति सुरक्षा कायम गर्न नेपाल सरकारसमक्ष माग गरेको छ, –विज्ञप्तिमा उल्लेख छ ।
एमाले बैठकले सबैखाले अराजनीतिक गतिविधिहरु बन्द गर्दै र निर्वाचनलाई प्रतिकूल असर पर्ने आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता गरी स्थानीय तहको निर्वाचनमा भाग लिन राष्ट्रिय जनता पार्टीलाई आह्वान समेत गरेको छ । यस्तै, असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको प्रचार–प्रसार तथा संगठन परिचालनका लागि केन्द्रीय नेताहरु, सांसदहरु, जनसंगठनका केन्द्रीय नेताहरु साथै पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिहरुलाई विभिन्न ठाउँमा खटाउने बैठकले निर्णय गरेको छ ।