शान्ति,समृद्धि, र विकासका लागि काँग्रेसलाई मतदान : खाँण
प्रकाशित २०७४ जेठ ३० मंगलबार
622
Shares
ललितपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले देशमा दिगो शान्ति,समृद्धि, र विकासका लागि दोस्रो चरणको निर्वाचनमा जनताले काँग्रेसलाई विजयी बनाउने विश्वास व्यक्त गरेका छन् ।
नेपाली काँग्रेस तिलोत्तमा नगरले सोमवार मणिग्राममा गरेको उम्मेदवार घोषणा सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य खाँणले बहुदलमा विश्वास गर्ने पार्टी भएकोले देशको समृद्धिकै लागि स्थानीय चुनावमा अन्य दलसंग सहकार्य गरेको उल्लेख गरे। ‘काँग्रेस कमजोर भएर होइन स्थायी शान्ति र समृद्धिका लागि हातेमालो गरेर अगाडी बढनुपर्ने राष्ट्रिय आवश्यकतालाई मनन गरेर तालमेल गरेका हौ’ नेता खाँणले भने ‘अन्य स्थानमा अन्य दलसंग तालमेलको प्रयास भइरहेको छ’ ।
तिलोत्तमाका स्थायी बासिन्दा समेत रहेका खाँणले नगरलाई हरियाली, सभ्य, विकसित र समृद्ध बनाउने परिकल्पना साकार पार्न काँग्रेस जनमुक्ति गठबन्धनलाइ अमुल्य मत दिएर जिताउन नगरबासीलाइ आग्रह गरे।
नेता खाँणले नगरलाई पर्यटकीय बिश्राम स्थलको रुपमा विकास गर्ने, पाँच बर्षमा देशकै ठूलो र चौडा ४७ किलोमिटरको चक्रपथ निमार्ण जस्ता योजना पूरा गर्दै लुम्बिनीसंग जोडेर हरीयाली, सभ्य र समृद्ध नगर बनाउने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले संविधान कार्यान्वयन,समृद्ध र सक्षम नेपाल अबको कार्यदिशा भएकाले स्थानीय तहमा काग्रेसको नेतृत्व अनिवार्य रहेको बताए । राष्ट्रिय जनमुक्तिका केन्द्रिय उपाध्यक्ष टोप अस्लामीले सबैखाले विभेदको अन्त्य गर्दे भ्रटाचारमुक्त समाज र विकासका लागि काँग्रेस जनमुक्तिको गठबन्धनलाइ जिताउन नगरबासीलाई आग्रह गरे। नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले रुपन्देहीका स्थानीय तहमा काँग्रेसका उम्मेदवारको जित सुनिश्चित भएको बताएका थिए ।
कार्यक्रममा जनमुक्ति रुपन्देहीका अध्यक्ष झमबहादुर गुरुङ,तिलोत्तमा चुनाव परिचालन समितिका संयोजक रामचन्द्र ढकाल,विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष रोमणी प्रसाद पाठक, नगर सभापती हरीलाल पाण्डे,सचिव शिव गैरे लगायतले बोल्दै तिलोत्तमाले जुझारु,विकास प्रेमी,योग्य र सक्षम नेतृत्व पाएकाले सबै एक भएर आफना उम्मेदवारलाई जिताउन लागी परेको धारणा राखे।
कार्यक्रममा नगरका मेयर र उपमेयरका उम्मेदवार रामकृष्ण खाँण र गीता सारुले समावेसी विकास, जहा मानव वस्ती त्यहा कालापत्रे सडक, एक वाड एक स्वास्थ्य चौकी, सुकुम्बासीलाइ लालपुर्जा,स्वरोजगार युक्त, हरीयाली, स्वच्छ र नेपालकै नमुना नगर बनाउने प्रतिबद्धता सहित आफनो टिमलाइ मतदान गर्न आग्रह गरे ।