arrow

असार १४ गतेको निर्वाचनको विपक्षमा कुरा नगर्न प्रमुख निर्वाचन आयुक्तको चेतावनी 

‘ढुक्क हुनोस्, ४६१ युनिटमै एकै चरणमा निर्वाचन हुन्छ’

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
aayodhi-prasad-yadav.jpg

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी दिएका छन् । मंगलबार रिपोर्टर्स क्लव नेपालले गरेको साक्षत्कारमा बोल्दै यादवले निर्वाचनको सम्पूर्ण तयारी भैसकेकोले अब पनि निर्वाचन हुँदैन भनेर यसको विपक्षमा बोल्ने काम नगर्न सरोकारवालाहरु सबैलाई उनले चेतावनी दिए । उनले असार १४ गते तोकिएकै मितिमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुने प्रतिक्रिया पनि दिए । 

यादवले भने, ‘मुलुक निर्वाचनमा गैसकेको छ, २ गते मनोनयन हुन्छ, १४ गते निर्वाचन हुन्छ, आयोग अब निर्वाचनबाट एक ईन्चपनि ब्याक हुँदैन्, चारवटै प्रदेशमा एकै चरणमा निर्वाचन हुन्छ, यसको सम्पूर्ण तयारी आयोगले गरिसकेको छ।’ यादवले चुनावको मुखामा आएर निर्वाचनको विपक्षमा कुनै कुरा नगर्न चेतावनी दिएका छन् । उनले भने,‘आयोग चुनावमा होमिसकेको छ ।’ साक्षात्कारमा बोल्दै यादवले सबै जिल्लामा निर्वाचन सामाग्री पु¥याई सकिएको र निर्वाचनको तयारी पूरा भैसकेको जानकारी गराए । उनले भने, ‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, हामीले संबेदनशिलताको आधारमा अनुगमन टोलि खटाएका छौं, असार १४ गतेको निर्वाचन मिति सार्ने भन्ने कुरा हल्लामात्रै हो, २ र ५ नम्बर प्रदेश को निर्वाचन सर्ने हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन, यी सबै अनुमानका कुराहरु मात्रै हुन् ।’

यादवले अब स्थानीय तहको संख्या थप भएमा पनि निर्वाचन गर्न नसकिने दाबी गरे । उनले भने, ‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, अब पनि स्थानीय तहको संख्या थप्ने भन्ने कुरा कहाँबाट सम्भव छ, यो असंम्भव कुरा हो, अब मत खसाल्न मात्र बाँकी छ ।’ उनले ४६१ स्थानमा एकै चरणमा निर्वाचन हुने र अब पनि संख्या थपे आयोगले निर्वाचन गर्न नसक्ने जिकिर गरे । उनले आयोगका सबै कर्मचारी मुख्य निर्वाचन अधिकृतदेखि अन्य कर्मचारीहरु ४६१ निर्वाचन क्षेत्रमा पुगिसकेको समेत जनाए । 

त्यस्तै उनले सुरक्षाको प्रत्याभुती गराउन आयोगले सरकारलाई पटक–पटक पत्राचार गरिसकेको जानकारी दिँदै भने, ‘सुरक्षाको प्रत्याभुति हुन्छ, सुरक्षाको वातावरण बनाउनको लागि हामीले सरकारलाई भनिसकेका छौं ।’ उनले चुनावको मतपरिणाम नआउञ्जेलसम्महरेक दिन नयाँ–नयाँ चूनौतिहरु आईरहने भएकोले सबै चुनौत हरु सामाना गर्न आयोग तयार रहेको स्पष्ट पारे । 
निर्वाचन बहिष्कार गर्ने दलहरुलाई जनताको मत हाल्ने अधिकार कुण्ठित नगर्न समेत उनले आग्रह गरे । यादवले भने,‘सबै राजनीति दलहरुले निर्वाचनमा भाग लिनुपर्छ, आफ्नो मत हाल्ने मतदाताहरुको अधिकारलाई कुण्ठित गर्ने काम कसैलेपनि गर्नुहुँदैन।’ 

प्रमुख निर्वाचन आयुक्त यादवले सरकारले अहिलेसम्म निर्वाचन सानुपर्छ भनेर आधिकारिक रुपमा आयोगलाई नभनेको समेत जिकिर गरे । उनले मध्य असारमा नेपालमा निर्वाचन भएको पहिलोपटक भएको समेत जिकिर गरे । उनले भने, ‘जनताहरुको प्रत्यक्ष सहभागितामा निर्वाचन हुन्छ, सुरक्षित वातावरणमा मतदान गर्ने व्यवस्थापन गर्ने, मतपेटिकालाई मतदान अधिकृतको कार्यकक्षमा कसरी पुर्याउने भन्ने कार्ययोजना अनुसार हामी काम गरिरहेका छौं ।’

यादवले निर्वाचन आचारसंहिता कार्यान्वयनको लागि प्रभावकारी रुपमा काम गरिरहेको समेत जानकारी गराए । उनले भने, ‘निर्वाचन आचारसंहिता कडाईका साथ कार्यान्वयन भैरहेको छ, यसको लागि हामीले सह–सचिवको नेतृत्वमा अनुगमन टोली खटाएका छौं ।’ उनले अब चुनाव चिन्ह पनि दिन नसकिने स्पष्ट पारे । उनले भने, ‘चुनाव अघि अब मिति सार्ने काम र चुनाव चिन्ह दिन सकिँदैन् ।’ जनता मतदान गर्न आँतुर रहेकोले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै अब दोस्रो चरणको निर्वाचनपनि प्रभावकारी रुपमा सम्पन्न हुने स्पष्ट पारे । आम मतदाताहरुबाट आफूहरुलाई पूर्ण सहयोग भैरहेको समेत उनले जानकारी दिए । 

उनले राजपा नेपाल लगायत केही दलहरुले निर्वाचनबारे असहमति राखेकोबारे टिप्प्णी गर्दै भने,‘उहाँहरुको माँग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको छ, स्थानीय तहको कानून संशोधन, राजनीतिक दलसम्बन्ध ऐनमा पनि संशोधन गरिसकेको थियो, तीन दिनको समय पनि सूचना जारी गरेका थियौं, अधिकतम लचकता अपनाएका थियौं, हामी त अहिले पनि आग्रह गरिरहेका छौं, कि निर्वाचनमा आउनुहोस् भनेर ।’

यादवले मतदाता शिक्षालाई पनि यसपटक प्रभावकारी बनाईएको जनाए । उनले भने,‘मतदाता शिक्षा कार्यक्रमलाई हामीले सबै निर्वाचन क्षेत्रमा सशक्त रुपमा चलाएका छौं, अहिले पनि चलिरहेको छ, मतदाता शिक्षा पुगिरहेको छ, शिक्षा भनेको कुरा, सबैले प्रत्येक ठाउँमा मतदाता शिक्षाको लागि कार्यकर्ताहरु छन्, सामाग्री प्रकाशन गरेका छौं ।’ निर्वाचनमा व्यवस्थापनको दृष्टिकोणबाट भन्दापनि राजनीतिक दृष्टिकोणबाट समस्याहरु रहेको यादवको भनाई थियो । उनले आम सरोकारवाला निर्वाचनको पक्षमा रहेको तर राजनीतिक विवाद कायमै रहेकोले दोस्रो चरणको निर्वाचनमा केही चूनौतिहरु भने रहेको बताए । यद्धपी उनले ती चूनौतिहरु सामना गर्न आयोग तयार रहेको स्पष्ट पारे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ