कस्तो विडम्वना ! गाउँभरी अपांग छन्, उपचार गर्ने पैसा कसैसँग छैन
बिक्रम कार्की,
प्रकाशित २०७४ जेठ ३० मंगलबार
757
Shares
दोलखा । काठले वरिपरी बारेर बनाएको सानो झुप्रोको भित्रबाट आफ्नो अपाङ्ग २ छोराहरुलाई बोकेर बाहिर घाममा ल्याउदै थिए ४५ वर्षीय धनबहादुर तामाङ । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्वर ८ खारे बाबियोखर्कका तामाङ र उनकी श्रीमती लालमाया तामाङको दिनचर्या प्रायः छोराहरुकै हेरचाहमा बित्छ । उनका जेठा छोरा शीतल तामाङ जन्मेर ६ वर्ष भएपछि बिस्तारै हिँडडुल गर्न नसक्ने हुँदै गए । कान्छा छोरा सुमन तामाङ भने जन्मजात नै अपाङ्ग जन्मिए । अहिले उनीहरु दुबै जना हिँडडुल गर्न सक्दैनन् ।
कक्षा १ मा पढ्न भर्खर जान लागेको थिए बिस्तारै मेरो दुबै खुट्टा सुक्दै गए पछि हिड्न नसक्ने भए अहिले साथीहरु स्कूल गएको देख्दा आफु स्कुल जान नपाएकोमा दुख लाग्छ १७ वर्षीय शितलले भने । आमा बाबु हुन्जेल त हाम्रो हेरचाह राम्रो होला तर आमा बुबाको बुढेसकाल लागेपछि हाम्रो अवस्था कस्तो होला भन्नेमा चिन्ता लाग्छ मोबाइलमा गीत सुनेर बसेका १४ वर्षीय सुमन तामाङले दुखेसो पोखे । छोराहरु अपाङ्ग भएपछि उपचार गर्न सिंगटी र चरिकोटको अस्पतालमा लगे डाक्टरले काठमाण्डौ लैजानु ठिक हुन्छ भने तर आर्थिक अभाबको कारण काठमाण्डौ लान सकिन ।
सिगंटी र चरिकोट गर्दैमा ८०÷९० हजार खर्च भयो बाबु धन बहादुरले भने, जेठो छोराको अपाङ्ग कार्ड बनेको छ मासिक एक हजार आउँछ, खेती किसान गरेर गुहारा चलाईरहेका छौ । दुबै जना काममा जान पाउदैँनौ दुई मध्ये एक घरमा छोराहरु कुरेरै बस्नुपर्छ । भुकम्प पछि घर भत्कियो घर बनाउन सकिएको छैन न काम छ न फुर्सद नै छोराहरुको हेरचाह र स्याहारसुसारमै दिन बित्छ धन बहादुरले सुनाए ।
त्यस्तै, गाउँकी अर्का छिमेकी चरित्र बहादुर तामाङ र प्रमिला तामाङकी २ वर्षीय छोरा पेमदोर्जे तामाङ पनि जन्मजात नै अपाङ्ग छन् । पेमदोर्जे पनि हिँडडुल गर्न सक्दैनन् । उनका छिमेकी पे्रम तामाङ र दुधिमाई तामाङकी ४ बर्षकी छोरी सन्पति तामाङको पनि अवस्था एउटै छ । उनीहरुले सुरु सुरुमा त आफ्ना छोरा छोरीको उपचार दोलखा सदरमुकामसम्म ल्याएर त गरे तर डाक्टरले काठमाण्डौ लैजानु भनेपछि आर्थिक अभावका कारण काठमाण्डौ लैजानको सट्टा घर तिरै फर्काए ।
अर्का १५ वर्षीय अमृत तामाङ कान सुन्दैनन् । उनी गाँउकै साधारण विद्यालयमा चार कक्षामा पढ्दै छन् । छोरो पढ्न जान रहर गर्छ तर उसलाई पढाउने विद्यालय नभएको प्रति गुनासो गर्छन् उनका बुवा आमा साङ्ले तामाङ र सरिता तामाङ । दैवले दिएन छोरो अपाङ्ग भयो उसले पढ्ने खालको स्कुल शहरमा हुन्छ रे छोरालाई शहर लगेर पढाउने रहर छ तर के गर्नु पैसा छैन अमृतका बुवा साङ्ले तामाङले भने ।
सिनर्जी हाईड्रो पावरमा काम गर्दा पहिरोमा परेर एउटा हात गुमाएका तक्त बहादुर तामाङको पनि पिडा उस्तै छ उनका ९ वर्षको छोरो सुकमान तामाङको वोली आउँदैन । बाबु पनि अपाङ्ग छोरा पनि अपाङग । बाबु तक्त बहादुरलाई सिनर्जी हाईड्रोले मासिक रु ५ हजार दिन्छ । उक्त रकम घर खर्चमा नै सकिन्छ घरपरिवार पाल्न मुस्किल छ तक्त बहादुरले गुनेसो पोखे ।
देविका तामाङ र सक्कल तामाङकी ७ वर्षीय छोरी फुलमाया तामाङ भने न हिड्न सक्छिन न आँखा देख्न नै सक्छिन । फुलमायालाई आँखा शिविरमा उपचार गराउन पनि लगे शिविरमा चरिकोट लैजानु भन्यो चरिकोट पनि लगे, चरिकोटबाट काठमाण्डौ लैजानु भनेपछि खर्च अभाबले छोरीलाई उपचार गर्न लैजान सकिन उनका बुबा सक्कल तामाङले भने । उनी भन्छन् हाम्रो टोल नै अपाङ्ग छ । यहाँका मानिसहरु सबै खेती किसानी गरेर दैनिकी चलाउँछन् । आर्थिक अभाबले गर्दा बिरामी परेका छोरा छोरीको उपचार सजिलै गर्न सकेनौ र अहिले गाउँ नै अपाङ्ग गाँउ भनेर चिनिन् पुग्यो ।
बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था थुप्रै छन् रे तर हाम्रा तिर आई पुगेका छैनन् । सामाजिक संघ संस्था पनि पहुँचवालालाई मात्र रहेछ हामी जस्ता दुखी गरिबीको रेखामुनि रहेका सोझासाझा जनताको सेवाका लागि होईन रहेछ । शीतलका बुबा धन बहादुर तामाङले भने । बाबियोखर्क गाउमा आर्थिक अभाव, सानोमा भएको कुपोषणका कारण थुप्रै बालबालिकाहरु अपाङ्ग भएका छन् । अब गाँउमा भित्रिने संघ संस्थालाई यो गाउँको समस्याको समाधानको लागि आग्रह गर्ने, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थालाई अनुरोध गरेर अपाङ्ग बालबालिकालाई उपचार गर्न लैजानेमा आफुले पहल गर्ने गाउँका भर्खरै निर्वाचित वडा अध्यक्ष रमेश खड्काले बताए । जनताको सेवा गर्छ भनेर मलाइ जनताले जिताए अब जनताको सेवागर्न कुनै कदम चाल्न पनि आफु पछि नहट्ने जानकारी दिए ।
स्थानीय देवराम बुढाथोकीका अनुसार गाउँमा आर्थिक अभाब, गाँउमा पुरै धामी बस्ती भएको र बिरामी पर्दा धामी झाँक्रीलाई उपचार गर्न लगाउने समस्याका कारण समयमै उपचार नपाउँदा बालबालिका अपाङ्ग हुन पुगेका हुन ।