राजपा नेपाल उत्रियो तराई ठप्प पार्न, चार दिनसम्म तराई बन्द गर्ने
चुनावी गतिविधि प्रभावित
प्रकाशित २०७४ जेठ ३० मंगलबार
487
Shares
बारा । राष्ट्रिय जनता पार्टी नेपाल राजपाले तराई मधेसमा बन्द आब्हान गरेको छ । राजपा नेपाल सम्बद्ध संघीय गठबन्धनले मंगलबारदेखि चारदिनसम्म मधेस, थरुहट र लिम्बुवान बन्दको घोषणा गरेको हो ।
राजपा नेपालका नेता कार्यकर्ताले बिहानैदेखि हात हातमा लाठी लिइ ठाउँ ठाउँमा टायर बालेर नाराबाजी गर्दै बजार, यातायात, शिक्षण संस्था बन्द गराएका छन् ।
यातायात बन्दले यात्रुहरु मारमा परेका छन् ।
बन्दका कारण धनुषा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, महोत्तरी, सिरहालगायत तराई मधेसका जिल्लाको जनजीवन प्रभावित भएको छ ।
बन्दको पूर्व सन्ध्यामा सोमबार बेलुका राजपा नेपालका नेता कार्यकर्ताले तराई मधेसका जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गरेका थिए ।
संविधान संशोधन नगरी सरकारले चुनाव गराउन लागेको भन्दै राजपा नेपालले त्यसलाई विथोल्न चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत नै लगातार चार दिन बन्दको आब्हान गरिएको हो ।
बन्दको क्रममा राजपा नेपालले हरेक स्थानीय तहमा निर्वाचनविरुद्ध माइकिङ गर्ने, तालाबन्दी गर्ने र लाठी जुलुस प्रदर्शन गर्ने कार्यक्रम तय गरेको जनाएको छ ।
त्यस्तै राजपा नेपालले असार १० देखि १४ गतेसम्म पाँच दिन आमहड्ताल गर्ने जनाएको छ ।
सरकारले राजपाका माग संवोधन गरी संविधान संशोधन नगरेसम्म चुनावमा भाग नलिने राजपाले जनाएको छ ।
सरकारले भने निर्वाचनपछि माग संवोधन गर्ने जनाएको छ ।