arrow

मोहन विक्रमको किल्ला भत्काउँदै काँग्रेसका प्रमोद पोख्रेल

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
Mohan-Bikram-Singh_pramod_pokhrel.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहन विक्रम सिंहको गाउँपालिका समेत रहेको प्युठानको झिम्रुक गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट युवा नेता एवं महाधिवेशन प्रतिनिधि प्रमोद पोख्रेलको उम्मेदवारी निश्चित भएको छ । नेपाली काँग्रेसमा लामो समय राजनीति गरेका र पारिवारिक रुपमा समेत काँग्रेसको पृष्ठभूमि बोकेका पोख्रेलको उम्मेदवारी तय भएसँगै अन्य पार्टीहरु भित्र भने नयाँ तरंगको विजारोपण भएको जनाइएको छ । 

केन्द्रीय राजनीतिमा राम्रो पहुँच पुगेका र स्थानीय राजनीतिमा घुलमिल गर्ने क्षमता भएका व्यक्तिहरुको खोजीमा रहेका गाउँपालिकाबासीहरुले लामो समयसम्म पनि विकासको दृष्टिले आफूहरु छायामा परेको अनुभव गरिरहेका थिए । प्रभावशाली जनप्रतिनिधिको अभाव र केन्द्रीय तहमा पहुँच नपुगेका व्यक्तिलाई जनप्रतिनिधि बनाउँदा सधैंभरी विकासमा पछि परेको यथार्थलाई सम्झिएर पनि अहिले झिम्रुकबासीहरुले पुरानो परम्परा तोड्ने मनस्थिती बनाईरहेका छन् । उनीहरुले गाउँपालिकाको विकासमा जुट्नसक्ने र आफ्ना स्रोत र साधनको समुचित प्रयोग गरेर आत्मनिर्भर गाउँपालिका बनाउन सक्ने व्यक्ति खोजीरहेको बेलामा पोख्रेलको उम्मेदवारीले मसालसँगै अन्य दलका नेताहरुमा नयाँ तरंग सिर्जना भएको हो । 
 
राजनीतिक पृष्ठभूमिबाट मात्रै आएका व्यक्ति सधैं राजनीतिमा मात्रै केन्द्रीत हुने र स्थानीयको समस्यमा जानकार नहुने अवस्थामा पत्रकारिता मार्फत् भित्रिएका पोख्रेलले गाउँको समस्याहरुको बारेमा जानकार रहेको आकलन स्थानीयको छ । पोख्रेल नेपाल पत्रकार महासंघ प्युठान जिल्ला शाखा एवं नेपाल प्रेस युनियनको पूर्व जिल्ला उपाध्यक्ष एवं महासंघ र युनियन दुवै संस्थाको केन्द्रीय पार्सद् समेत रहेका छन् । उनले पत्रकारिता मार्फत् पनि केन्दीय तहमा राम्रो पहुँच पुर्याएको र विपक्षीलाई व्यवस्थापन गरी आफ्नो योजना कार्यान्वयन गर्न सक्षम रहेकाले उनी स्थानीय स्तरमा पनि बढी लोकप्रिय बनेका हुन् । 

को हुन् पोख्रेल ?
वि. सं  २०४१ सालमा प्युठानको तत्कालीन ओखरकोट ५ मा बुबा भूमिराम पोख्रेल र आमा स्व. नमादेवी पोख्रेलको माइलो छोराको रुपमा सामान्य परिवारमा जन्मिएका उनले शिक्षा शास्त्र संकायमा स्नातक गरेका छन् । सानैदेखि गाउँको समस्या र गाउँलेले भोग्दै आएका अफ्यारा पक्षसँग परिचित पोख्रेल पत्रकारिताको माध्यमबाट ग्रामीण समस्या समाधानका लागि लामो समय सक्रिय रहे । सामान्य कृषक परिवारमा जन्मिएकोले उनी आफू पनि गरिबीसँग परिचित रहेको र गरिब घरपरिवारका समस्याको बारेमा पनि आफू जानकार रहेको बताउँछन् । 

पारिवारिक रुपमा सबै जना काँग्रेसी पृष्ठभूमि रहेका पोख्रेलका दाजु डा. विष्णुप्रसाद पोख्रेल नेपाली काँग्रेसको शुभेक्षुक संस्था प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका केन्द्रीय सचिव छन् भने उनका भाइहरुमध्ये साइलो भाइ रामजी पोख्रेल वित्तीय संस्था कर्मचारी संघका केन्द्रीय सदस्य र कान्छो भाइ नारायण पोख्रेल शिक्षक संघ तिलोत्तमा नगर समितिको सचिव रहेका छन् । 

के छन् एजेण्डा ?
अहिलेसम्म कम्युनिष्टहरुको गढको रुपमा रहेको यस गाउँपालिकामा काँग्रेसको झण्डा बोकेर हिँडेका पोख्रेलले गा्रमीण पूर्वाधारहरुको विकासका लागि आफू स्पष्ट एजेण्डा लिएर चुनावी मैदानमा होमिएको बताउँछन् । शिक्षा स्वास्थ्य, खानेपानी, सिंचाई लगायतका क्षेत्रमा विशेष योजना तयार पारेर चुनावी मैदानमा उत्रिएका उनले एकपटक विकासका लागि काँग्रेस कम्युनिष्टहरु भन्दा कति ठीक छन् भन्ने प्रमाणित गर्ने एजेण्डा आफूसँग रहेको बताएका छन् । लामो समयसम्म कम्युनिष्टहले शासन गर्दा सधैं विकासमा पछि परेको यो गाउँपालिकामा गैर कम्युनिष्टको क्षमता प्रस्तुत हुने खालको एजेण्डा बाकेका छन् ।

उनले कोट्फेरा, कुता, हिट्डाँडा, ओखरकोट, दियाल्मा, नेटा लगायतका अग्ला स्थानहरुमा लिफ्टबाट खानेपानीको व्यवस्था गर्ने, एक दलित तथा विपन्न परिवार, एक रोजगार अभियान सञ्चालन गर्ने, प्रत्येक गाउँमा मोटरबाटो, दरबन्दी अपुग स्कूलहरुमा दरबन्दीको व्यवस्था गर्ने र  ५० प्रतिशत गाउँपालिका र ५० प्रतिशत स्थानीयको लगानीमा विद्युत निर्माण लगायतका योजना आफूले अघि सारेका छन् । उनले स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार ५० शैय्यासम्मको अस्पताल निर्माण गर्ने लगायतका योजना अघि सारेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ