वैदेशिक रोजगार विभागमा १० हजारभन्दा बढी उजुरीको छिनोफानो हुन बाँकी
प्रकाशित २०७४ जेठ २९ सोमबार
667
Shares
धनुषा। राष्ट्रिय मानवअधिकार आयोगको आयुक्त सदस्य सुदीप पाठकले १० वर्षमा आप्रवासी कामदार नै आफूहरुको मुख्य कार्यक्षेत्र हुने बताएका छन् ।
सोमबार जनकपुरमा राष्ट्रिय मानवअधिकार आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय जनकपुरको आयोजनामा दुई दिवसीय आप्रवासी कामदारको मानवअधिकारसम्बन्धी सम्मेलनको उद्घाटनसत्रमा सदस्य पाठकले आप्रवासी कामदारका समस्या दिनानुदिन जटिल बन्दै गएकाले वैदेशिक रोजगारको अवस्थाबारे सूक्ष्म तरिकाले अध्ययन गरी यसको सम्बन्धमा नीति तथा कार्यक्रम निर्माण गर्नु जरुरी रहेको बताएका छन् ।
उनले भने – “एक वर्षमा ५० जिल्लाबाट वैदेशिक रोजगारका लागि गएका घर परिवारको सकारात्मक प्रगति तथा आयव्यय तथा त्यसबाट उत्पन्न नकारात्मक पक्षसमेतको अध्ययन गरी दीर्घकालीन योजनासँगै सरकारले बजेट छुट्याउन आवश्यक भएको छ ।”
उनले अहिले राज्यले आप्रवासी कामदारको सवालमा केही लागू गरेपनि कार्यान्वयन पक्षमा आइनसकेको बताउनुभयो । उहाँले कतारमा रहेका नेपाली कामदारबारे जानकारी दिँदै भने – कतारमा नेपाली कामदार सकुशल छन् । त्यहाँ अहिले १२ महिनाका लागि खाद्यान्न मौज्दात रहेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।
जिल्लास्तरमै वैदेशिक रोजगारका समस्यालाई हल गर्न कार्यालय स्थापना गर्नसमेत उनले सरकारलाई सुझाव दिए । उनका अनुसार अहिले वैदेशिक रोजगार विभागमा बर्सेनि दुई हजार १०० उजुरी आउने र १० हजारभन्दा बढी उजुरीको छिनोफानो हुन बाँकी छ । रासस