arrow

देउवाको मन्त्रिपरिषद बैठक : राजपालाई फकाउन ऐन संशोधन गर्ने निर्णय

logo
प्रकाशित २०७४ जेठ २८ आइतबार
deuba_cabinet.jpg

काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जनता पार्टी राजपा नेपाललाई चुनावमा सहभागि गराउने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १० को उपदफा ७ लाई संशोधन गर्ने निर्णय गरेको हो ।

ऐन संशोधन गरी ६ वटा दल मिलेर बनेको राजपालाई चुनावमा सहभागि गराउने सरकारी प्रयास जारी रहेको मन्त्रिपरिषद सदस्यहरुले बताएका छन् । आइतबार विहान राजपालाई फकाउने सत्तारुढ दलको प्रयास फेरि पनि विफल भयो । राजपासँगको वार्तामा सहमति हुन नसकेपछि मन्त्रिपरिषद बैठकले दल दर्ता सम्बन्धी ऐनमा संशोधनको विधेयक तत्काल संसद सचिवालयमा दर्ता गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकबारे जानकारी गराउदै अर्थमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘राजपालाई निर्वाचनमा सहभागी गराउने उद्देश्यले राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन विधेयक संसदमा लैजाने निर्णय भएको छ ।’

निर्वाचनको बीचमा नयाँ दल दर्ता गर्ने प्रावधान ऐनमा नभएकाले राजपाको दल दर्ता र उसले माग गरेको छाता चुनाव चिन्ह दिलाउने प्रयास स्वरुप सरकारले ऐन संशोधनलाई अघि बढाएको मन्त्री कार्कीले बताए ।

यस्तै, आजको मन्त्रिपरिषद बैठकले राजष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न जेनेभा भ्रमण स्वीकृत गरेको छ । जापानले नेपाललाई प्रत्येक वर्ष जापानले प्रदान गर्ने २० करोड अनुदान सहयोग समेत आइतबारको मन्त्रिपरिषदले स्वीकृत गरेको छ । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ