दाङ । शुक्रवार अपहरणमा परेका तुलसीपुर प्रतिष्ठीत व्यापारी राज कुमार श्रेष्ठको अवस्था आज आईतवार सम्म पनि अज्ञात रहेको छ । श्रेष्ठको अवस्था अज्ञात भएपछि तुलसीपुर उद्योग वाणिज्य संघले आइतबार विहान आकस्मिक बैठक डाकेको छ । बैठकले श्रेष्ठको सकुसल रिहाईका लागि सम्वन्धीत पक्षसंग अपिल समेत गरेको छ ।
संघका अध्यक्ष विमल रिजालले एथासक्य रिहाईका लागि अपिल एवं सुरक्षा निकायलाई खोजीकार्यका लागि अनुरोध गरेका छन् । साथै उनले व्यवसायीक शुरक्षामा गम्भिर वन्न प्रहरी प्रशासन संग अनुरोध गरेका छन् । अध्यक्ष रिजालले सत्य तथ्य सूचना प्रहरीलाई उपलव्ध गराई सहयोग गरि दिनु हुन समेत अनुरोध गरे । यस्तै तुलसीपुरमा व्यवसायीहरु एकाएक अपहरणमा पर्ने घटनाहरु पटक पटक दोहोरिए पछि व्यवसायीहरु संसकित वनेका छन् ।
यता शुक्रवार तुलसीपुरवाट राती ८ वजे अपहरणमा परेका व्यापारी राज कुमार श्रेष्ठको खोजी कार्य व्यापक पारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए । उनका अनुसार प्रहरीले कलडिटेलका आधारमा घटनाको नजिक पुगेको वताए । साथै एसपी सिंहले अनुसन्धानलाई व्यापक वनाउन गहन सुरक्षा संयन्त्र परिचालन गरिएको समेत जानकारी दिए ।
व्यापारी श्रेष्ठ सवार वा.१२ च १०७१ नम्बरको निजी जिप र भारतिय नम्बर प्लेटको गाडी समेत सल्यानको कपुरकोट गाउंपालिका सिनवाङ्ग र रिमको विच जंगलमा पर्ने शितल वजारमा फेलापारेको सल्यान प्रहरी प्रमुख श्याम खत्रीले जानकारी दिए । श्रेष्ठ संगै घोराहीका एक जना ठेकेदार रन वहादुर घर्ति र अर्का एक जना महिलालाई समेत अपहरणकारीले संगै लगेर गएको प्रत्यक्षदर्शीहरुले वताएका छन् । श्रेष्ठ विगत लामो समय देखि तुलसीपुरमा कपडाको व्यापार व्यवसाय गर्दै आएका छन् ।
यसै विच तुलसीपुरमा भएको घटनाको विषयलाई लिएर विभिन्न मानवअधिकारीवादी संस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन। मानवअधिकार तथा शान्तिसमाज दाङ शाखाले आईतवार विज्ञप्ती जारी गरी तत्काल व्यापारी राजकुमार श्रेष्ठको सकुशल रिहाईका लागि अपिल गरेको छ । शान्तिसमाज दाङका सभापति शुरेस हमाल र सचिव शरद रेग्मीले विज्ञप्ती जारी गरी मान्छेको वांच्न पाउने अधिकार हरण गर्न कसैलाई पनि छुट नभएको भन्दै तत्काल श्रेष्ठको रिहाईका लागि अपिल गरिएको छ ।
त्यस्तै राष्ट्रिय मानवअधिकार प्रतिष्ठान दाङ शाखाले घटनाको विषयलाई लिएर आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला सभापति विनोद कुमार श्रेष्ठ र महासचिव बालाराम खड्काले विज्ञप्ती जारी गरी व्यवसायी राजकुमार श्रेष्ठको सकुसल रिहाई गरी दिन सम्वन्धीत पक्ष संग माग गरिएको छ ।