arrow

विप्लवकै गाउँबाट १० जना कलाकार पक्राउ

logo
प्रकाशित २०७४ जेठ २५ बिहिबार
arrest.jpg.jpeg

रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका १० जना कलाकारलाई प्रहरीले मङगलबार रोल्पाको इरिवाङबाट पक्राउ गरेको छ । 

नेपाल कम्युनिस्ट पार्टी निकट जलजला सांस्कृतिक परिवारका सदस्य रहेका उनीहरुले सांस्कृतिक अभियानमार्फत जनजागरण तथा जनप्रतिरोध अभियान सञ्चालन गरिरहेको बेला पक्राउ परेको बताइएको छ । 

कलाकारलाई प्रहरीले पक्राउ गरेको पुष्टि गर्दै नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाँठा ‘सुवास’ले शान्तिपूर्वक अभियानमा संलग्न रहेका कलाकार र कार्यक्रम हेर्न पुगेका विद्यार्थी पक्राउ गर्नुले स्वतन्त्रतापूर्वक कार्यक्रम गर्न पाउने अधिकार माथि हस्तक्षेप गरेको प्रतिक्रिया दिए । 

आफैँले बनाएको बुर्जुवा संविधानको समेत अपमान गरिरहेको नेता सुवासको भनाइ छ । 

यता जिल्ला प्रहरी कार्यालय रोल्पाले भने चुनाव विरोधी गतिविधि गरिरहेको बेला उनीहरु पक्राउ परेको बताएको छ । 

पक्राउ परेकामा १६ देखि २३ वर्ष उमेर समूहका कलाकार रहेको बताइएको छ । 

हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनीहरुलाई सार्वजनिक मुद्दा लगाइएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक गजेन्द्र चौधरीले जानकारी दिए । 

यसअघि रोल्पाबाट प्रहरीले तीनजनालाई पक्राउ गरिसकेको छ । त्यसरी पक्राउ पर्नेमा नेपाल पत्रकार महासङ्घ रोल्पाका प्रदेश पार्षद पुष्टमान घर्ती र जलजला सांस्कृतिक परिवार रोल्पाका अध्यक्ष हिमाल घर्तीसमेत तीनजना छन् । 

जिल्लामा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता यति धेरै पक्राउ परेको यो पहिलो घटना हो । 

नेत्रविक्रम चन्द ‘विप्लव’को गाउँ इरिवाङबाट ती कलाकार पक्राउ परेको बताइएको छ । 

कार्यकर्ता धमाधम पक्राउ पर्न थालेपछि सो पार्टीका जिल्लास्तरीय नेता कार्यकर्ता सदरमुकाम छोडी अर्धभूमिगत अवस्थामा रहेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ